आइतवार, बैशाख २३, २०८१

कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको दुई सतापछि सरकारले पूर्णता पाउँदै

  
कर्णाली टाइम्स बुधबार, बैशाख १२, २०८१


सुर्खेत। कर्णाली प्रदेशमा दुई सातापछि सरकारले पूर्णता पाउने भएको छ। बदलिएको राजनीतिक समीकरणअनुसार गएको चैत २७ गते नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग मन्त्रिपरिषद विस्तारका विषयमा सहमति नहुँदा दुई सातासम्म उनले मन्त्री नियुक्त गर्न पाएनन्।
बुधबारदेखि भने एक जना विनाविभागीय मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार मन्त्री नियुक्त भएका छन्।
मंगलबार नेकपा माओवादी केन्द्र र एमालेको संसदीय दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति भएपछि कर्णालीको मन्त्रिपरिषदले पूर्णता पाउन लागेको हो।
सहमतिअनुसार माओवादीले चारवटा महत्वपूर्ण मन्त्रालय पाउने भएको छ। माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा मन्त्रालय लिने भएको छ।
मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा काुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय एमालेले लिने भएको छ।
यसअघि माओवादी केन्द्रले सभामुखसहित महत्वपूर्ण चार वटा मन्त्रालय मागेपछि कुरा मिल्न सकेको थिएन।
माओवादी र एमाले दुवैले आफ्नो भागमा परेका कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक सहमति जुटाईसकेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिईने माओवादी संसदीय दलले जनाएको छ।
मुख्यमन्त्री कँडेलले बिहिबार विश्वासको मत लिने छन्। उनले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा मंगलबार दर्ता गराएका छन्।