सुर्खेत। गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियाले जितेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमार्फत बर्दियाका करणले उपाधि प्राप्त गरेका हुन्।
ग्रान्ड फिनालेमा अन्य तीन जना अन्तिम प्रतिस्पर्धीहरुमध्ये मोहित भुजेल थर्ड रनरअप, सचिन विश्वकर्मा सेकेण्ड रनरअप र सलोमी गुरुङ फस्र्ट रनरअप भएका छन्। यी तीनै जनालाई पछि पार्दै दर्शकको भोटका आधारमा करण विजेता बने। करणले अडिसन राउण्डमा गोल्डेन माइक पाएका थिए।
उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । फस्ट रनरअप पोखराकी सलोमीले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन्।
यस्तै सेकेण्ड रनरअप बनेका दार्जिलिङका सचिन विश्वकर्माले नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
थर्ड रनरअप भएका दार्जिलिङकै मोहित भुजेलले स्कुटर प्राप्त गरेका छन्।
चार महिनादेखि जारी नेपाल आइडल सिजन–५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो। नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।
शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए।
सिजन–५ को ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक–गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए।
नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ।
कर्णाली टाइम्स
शनिबार, असार ९, २०८१