सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले आर्थिक तथा वित्तीय सुशासन कायम हुनेगरि काम गर्न निर्देशन दिएका छन्। जाजरकोटमा रहेका सरकारी निकायहरुको बार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्नेक्रममा मन्त्री शाहले स्थानीय तहबाट सिफारिस गराएर आवश्यकतामा आधारित योजना माग गर्न पनि निर्देशन दिए।
‘विनियोजन भएको बजेट समयमै खर्च नहुँदा फ्रिज हुने समस्या कायमै छ, यसले गर्दा समयमै खरिद प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्नु जरुरी देखिन्छ,’ उनले भने, ‘कुनै पनि कार्यालयबाट कार्यान्वयन हुने कार्यक्रम प्रस्ताव गर्दा दोहोरोपना आउन पनि नदिनुहोस्।’
मन्त्री शाहले तीनै तहका सरकारबाट बजेट विनियोजन गरिएको कार्यक्रमहरुलाई समयमै कार्यान्वयन गर्न आग्रह गरे। कार्यक्रमको प्रभावकारी कार्यान्वयन नभएको खण्डमा अर्को बर्षको बजेटमा यस्ता कार्यक्रम समावेश नगरिने उनले बताए।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका बेरुजु फछ्र्यौट गर्न निर्देशन दिँदै मन्त्री शाहले बेरुजु फछ्र्यौटकै आधारमा मुल्याङ्कन गरिने बताए।
उनले प्रचलित कानुनको अधिनमा रहेर खरिद तथा अडिट प्रक्रियामा जान पनि निर्देशन दिएका छन्।
कर्णाली टाइम्स
बुधबार, भदौ १२, २०८१