शुक्रबार, पुस ११, २०८२

दशौं खेलकुदको मिति अब नसर्नेगरि तोकौं : मुख्यमन्त्री

  
कर्णाली टाइम्स बिहीबार, साउन २२, २०८२


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्दा अब नसर्नेगरि तोक्न आग्रह गरेका छन्। प्रदेश सरकारको कारणले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकाले अबको मिति तोक्दा नसर्नेगरि तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्।

दशौ राष्टिय खेलकुदका बारेमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मु्ख्यमन्त्री कँडेलले बारम्बार मिति तोक्ने तर खेलकुद नहुने अवस्थाले नकारात्मक सन्देश गएको बताए।

अब यस्तो गल्ती नदोहोर्याउन उनले संघ सरकारलाई आग्रह गरेका छन्। ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट प्रतिबद्ध छौं, सोहीअनुसार तयारी पनि गरिरहेका छौं,’ उनले भने, ‘तर आयोजकले नै मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नुहोला।’

उनले प्रतियोगिता गर्न यसअघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाएका छन्। ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला, तर प्रतियोगिताकै लागि जम्बो उपसमिति बन्ने र बनाउनेतर्फ सचेत रहनुहोला।’ उनले भने।

प्रतियोगिता गराउनेतर्फ कर्णाली प्रदेश सरकारको पूरै ध्यान केन्द्रित भएको कँडेलले बताए।

उनले प्रदेश खेलकुद परिषदमा रिक्त पदाधिकारीहरुको नियुक्तीका विषयमा छलफल सुरु भएको जानकारी पनि दिए। रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने उनले बताए। दशौं खेलकुदका लागि अधिकांश पू्र्वाधार प्रदेश सरकारले नै निर्माण गरेको उनले बताए।

छलफलमा सहभागी युवा तथा खेलकुद मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अब नसर्नेगरि मिति तोक्ने तयारी रहेको जानकारी दिए। उनले सुर्खेत र आसपासमा २४ वटा खेल खेलाउनेगरि प्रतियोगिताको तयारी अघि बढेको बताए।