बिहीबार, पुस १०, २०८२

विपद न्युनिकरणका विषयमा दुई दिने कार्यशाला सम्पन्न

  
कर्णाली टाइम्स बिहीबार, साउन २२, २०८२


सुर्खेत। विपद जोखिम र व्यवस्थापनमा अन्तरप्रदेश संशाधनको साझोदारीका विषयमा दुई दिने कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न भएको छ। बुधबारबाट सुरु भएको कार्यशाला तथा अन्तर विषयगत क्षेत्र बैठकमा विपद व्यवस्थापबारे नीतिगत व्यवस्था, क्षमता विकासको आवश्यकता, प्रशिक्षण, सीप, ज्ञान तथा असल अभ्यासका बारेमा छलफल भएको थियो।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजना तथा सहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर–२) को प्राविधिक सहयोगमा विपद न्युनिकरण तथा व्यवस्थापनमा यो कार्यशाला गरिएको हो।

उक्त कार्यशालाको स्थानीय साझेदारी सुन्दर नेपाल संस्थाले गरेको थियो। कार्यशालाको सहजीकरण नेपाल सरकारका पूर्वसचिव शंकरहरि कोइरालाले गरेका थिए।

कार्याशालाको दोस्रो दिन बिहिबार अन्तर प्रदेश संसाधन साझेदारी सञ्चालन निर्देशिका र समझदारी पत्रको ढाँचाका बारेमा सरोकारवालाबीच छलफल भएको थियो। विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयनको अवस्था, यस वर्षको मनसुनजन्य विपद्का घटना एवम् प्रभावका बारेमा पनि छलफल भएको थियो।

कार्यशालामा सहभागीहरुले कर्णाली प्रदेशको बुहप्रकोपीय विपदको पूर्वतयारी र विपदपछिको प्रतिकार्यमा अपनाउन सकिने रणनीतिका विषयमा आफ्नो तर्फबाट सुझाव दिएका थिए।

कार्यशालामा आन्तरिक मामिला तथा योजना मन्त्रालयको विपद व्यवस्थापन शाखाका कर्मचारी, विपद न्युनिकरण तथा व्यवस्थापनमा काम गर्ने विकास साझेदार संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, रेडक्रस तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता भएको थियो।

कार्यशालाको समापन समारोहमा बोल्दै आन्तरिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले विपदजन्य जोखिमबाट बच्न सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताए। यस वर्षको मनसुनजन्य विपदबाट एक लाख बढी जनसंख्या प्रभावित हुन सक्ने आँकलनका साथ प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिए। अन्तर प्रदेश साझेदारी कार्याशालाबाट विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन, सुन्दर नेपाल संस्थासँगको साझेदारीमा कर्णालीमा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्वतयारी र प्रतिकार्यका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिरहेका छन्।