
सुर्खेत। सुर्खेतमा एक जनाको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
साउन ९ गते राति १२ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कको माथिल्लो गेटमा २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कु प्रहार भएको थियो। उक्त चक्कु परियारको आँखामा लागेको थियो।
उक्त घटनामा संलग्न जुम्लाका नवराज रावतलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
उक्त आक्रमणबाट परियार गम्भीर घाइते भएका थिए भने आक्रमण गर्ने रावत घटनास्थलबाट फरार भएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरिएको डिएसपी बुढथापाले जानकारी दिए। पक्राउ परेका रावतलाई बुधबार जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको छ।
