
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटघाट गरेका छन्। बिहिबार देउवा निवास बुढानिलकण्ठ पुगेर भेटघाट गरिएको मुख्यमन्त्री कँडेलले सामाजिक सञ्जाल फेसबुकमाफर्त जानकारी गराएका छन्।
‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बूढानीलकण्ठमा भेटघाट भयो, भेटमा समसामयिक राजनीतिसँगै कर्णाली प्रदेश सरकारको काम कारबाही, विकास, समृद्धि र सुशासनका सम्बन्धमा छलफल भयो,’ कँडेलले फेसबुकमा तस्विर साझा गर्दै लेखेका छन्, ‘महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।’
दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच भएको साझेदारीअनुसार कँडेलको नेतृत्वमा एक बर्षअघि कर्णालीमा सरकार गठन भएको थियो।
कर्णालीमा यी दुई दलहरुबीच सम्बन्ध भने सुमधुर हुन सकेको छैन। केही समयअघि आफ्नो संसदीय दलको वैठकमा एमालेले गठबन्धनको मर्मअनुसार कांग्रेस नचलेको आरोप लगाएका थियो। उक्त आरोपछि दुई दलबीच सम्बन्ध चिसिएको थियो। प्रदेशस्तरीय संयत्रको बैठकबाट सरकारका कामकारबाहीलाई थप व्यवस्थित गर्दै लैजाने सहमति पनि भएको थियो।
