
सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गत भदौमा भएको जेनजी आन्दोलनकामा षड्यन्त्रकारीको घुसपैठले ठूलो क्षति पुगेको बताएका छन् । बिहिबार गृहजिल्ला सुर्खेत पुगेका खड्काले पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत समूहका माग जायज भएपनि आन्दोलनकै बहानामा षड्यन्त्रकारीहरुले घुसपैठ गरेर सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याएको बताए ।
‘आन्दोलनमा सहभागी भएका जेनजी युवाहरुको माग जायज थियो, देशको सुशासन र भ्रष्टाचारको विषयमा युवहरुले उठाएका माग मननयोग्य नै थिए,’ उपसभापति खड्काले भने, ‘यही आन्दोलनलाई मौकाको रुपमा लिएर षड्यन्त्रकारीहरुको घुसपैठले अस्वाभाविक क्षति भएको हो ।’
पूर्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले आफूले काठमाडौंमा घर–जग्गा नजोडेको बताए । आफ्नो विषयमा अहिले फैलाईएको धारणा गलत रहेको उनले बताए । ‘अहिले मेरो बारेमा एउटा न्यारेटिभ बनाइएको छ, चप्पल लगाएर काठमाडौं आएका नेता भनेर, तर मेरो स्थिति त्यो होइन, म पाँच कक्षा पढ्दादेखि सुट लगाउन थालेको हुँ, आमा जिम्मुवालको छोरी र बुवा मुखिया हुनुहुन्थ्यो,’ उनले भने, ‘तर सबै नेतालाई एउटै न्यारेटिभले हेरिनुहुँदैन, मेरो काठमाडौं घर घडेरी केही छैन, भाइका लागि ससुरालीले बनाइदिएको घरमा बस्थेँ, त्यही पनि जलाइदिए ।’ विगतमा ८–८ वटा मन्त्रालय चलाउँदा समेत आफूले कुनै गलत काम नगरेको उनले दावी गरे ।
संविधान निर्माण गर्ने राजनीतिक दलहरुबीच आपसी एकता र आत्मसमिक्षा जरुरी रहेको उनले बताए । खड्काले देश यो अवस्थामा कसरी पुग्यो भनेर प्रत्येक राजनीतिक दलले आत्मसमिक्षा र कतिपय सन्दर्भमा आत्मालोचित समेत हुनुपर्ने उनको भनाई छ । उपसभापति खड्काले संविधान पक्षधर दलहरुले एक आपसमा आरोपप्रत्यारोप नगरी संयमता, धैर्यता र पार्टी–पार्टीबीचको एकतालाई कायम राख्नुपर्ने बताए ।
उनले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधार हुँदै गएकाले दसैँलगत्तै पार्टी केन्द्रीय कार्य समितिको बैठक बस्ने बताए । उक्त बैठकमा पार्टीका कमजोरी, पार्टी रुपान्तरण गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
‘हाम्रा केही गल्तीहरु थिए होलान्, हामी सुधार्दै आएका पनि थियौँ, भ्रष्टाचार नियन्त्रणका लागि हाम्रै नेताहरुमाथि छानविन भइरहेको थियो,’ उनले आन्दोलनका सन्दर्भभा भने, ‘मुद्दाहरु नै चलिरहेकै थियो, यी सबै हुँदा पनि विध्वंस मच्चाउने काम भयो, यो सामान्य अवस्था होइन, एउटा ठूलो ग्रान्ड डिजाइन हो, अब हामी एकताबद्ध भएर षडयन्त्रकारी र विध्वंसकारीका तानाबानाविरुद्ध जनतालाई बुझाउनुपर्नेछ ।’
तत्काल छानविनको काम अघि बढाएर यो स्थिति कसरी सिर्जना भयो भनेर सरकारले आम नेपाली जनतालाई प्रस्ट पार्नुपर्ने खड्काले औंल्याए ।
