शुक्रबार, पुस ४, २०८२

सुर्खेत १ बाट खड्का एकल सिफारिस, २ बाट ६ जनाको नाम

  
कर्णाली टाइम्स बुधबार, मंसिर २४, २०८२


सुर्खेत। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा एकल र २ मा ६ जनाको नाम सिफारिस गरिएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिका अनुसार सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । कांग्रेस कार्यवाहक सभापतिसमेत रहेका खड्काको नाम यो क्षेत्रबाट एकल सिफारिस भएको हो ।

क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको थियो । क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस भएको छ । नरबहादुर सोनी र भिमा मल्लको नाम समानुपातिकतर्फको उम्मेदवारका रुपमा सिफारिस भएको हो ।

प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएका खड्का यसअघि २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा निरन्तर सांसद निर्वाचित भएका थिए । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा उनी समानुपातिकबाट सांसद बनेका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा फेरि उनी प्रत्यक्ष निर्वाचित भएका थिए । संघीयतापछि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी एमाले–माओवादी गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए । २०७९ मा खड्काले प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।

यस्तै सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उम्मेदवारको रुपमा ६ जनाको नाम सिफारिस भएको छ । सुर्खेत–२ का सभापति इन्द्रबहादुर रावलका अनुसार उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको हो ।

समानुपातिकतर्फ क्षेत्र नम्बर २ बाट गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना विष्ट र भिम शाही नेपालीको नाम सिफारिस भएको छ ।