
सुर्खेत। पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २ सय ५८ जना कोरोना संक्रमित फेला परेका छन्। यो संख्या नेपालमा कोभिड देखिन थाले यताकै सबैभन्दा धेरै हो। यसअघि २०७८ बैशाख २८ गते ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या नेपालमा कोरोना संक्रमित फेला परेदेखि एकै दिनमा देखा परेको सर्वाधिक संख्या हो। मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्। यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ।
माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको हो।
