
सुर्खेत। कोभिड संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाप्रवाहमा ‘बार प्रणाली’ लागु गर्ने भएको छ। माघ ९ गतेदेखि जिल्लाका स्थानीय तहका मानिसले बार अनुसार सेवा पाउनेछन्।
मंगलबार सूचना जारी गर्दै प्रशासन कार्यालयले यही माघ ९ गते (आइतबार) देखि कुन बार कुन स्थानीय तहका नागरिकलाई सेवा दिने भन्नेबारे जानकारी गराएको छ।
नागरिकता, राष्ट्रिय परिचय पत्र, फोटोहितको मतदाता नामावली दर्ता, विद्युतीय राहदानी सम्बन्धी कार्यहरु ‘बार प्रणाली’मा गर्न लागिएको सूचनामा उल्लेख छ।
प्रशासनको निर्णय अनुसार आईतबार र शुक्रबार लेकवेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकलाई सेवाप्रवाह गरिनेछ।
सोमबार र मंगलबार वीरेन्द्रनगरसहित भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिकाका नागरिकलाई प्रशासन कार्यालयबाट सेवा दिईनेछ ।
गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका नागरिकलाई बुधबार र बिहिबार मात्र सेवा दिईनेछ।
माघ ९ गतेदेखि सेवा लिन जिल्ला प्रशासनमा आउने सेवाग्राहीले पूर्ण खोप लगाएको खोप कार्ड ल्याउन प्रशासनले आग्रह गरेको छ । खोप कार्ड मोवाईलमा फोटो खिचेर भएपनि ल्याउनुपर्नेछ।
कुनकुन बार कुन स्थानीय तहका मानिसले सेवा लिन पाउँछन्, सूचनामा हेर्नुहोसः

