
सुर्खेत। सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ कार्य समिति चयन गरिएको छ। बिहिवार भएको चुनावी साधारण सभाले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको जिल्ला अधिवेशन निर्वाचन समितिको कार्यालयले जनाएको छ।
संघको अध्यक्षमा श्रीधर केसी चयन भएका छन्। यस्तै उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन्।
सदस्यहरुमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक विक्रम शाही, भुवन कोईराला, रोशन शाही, बिदूर केसी, सम्राट राई चयन भएका छन्।
‘खेलाडिको भविष्यका लागि पूर्वाधार बनाऔं’
सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सरोकारवालाहरुले खेलाडीहरुको भविष्यका लागि पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन्। कर्णाली प्रदेशमा अभ्यास खेल खेल्न समेत उपयुक्त पूर्वाधार नभएकाले यसमा सरकारले ध्यान दिनुपर्ने उनीहरुले बताए।
नेपाल क्रिकेट संघका सदस्य पदमबहादुर खड्काले कर्णाली प्रदेशमा उपयुक्त खेल मैदान नहुँदा क्रिकेट खेलाडीहरु प्रदेश बाहिर गएर अभ्यास गर्नुपरेको बताए।
‘अहिले नै हाम्रा खेलाडीहरु अन्तर्राष्ट्र्यि स्तरका खेल खेल्न सक्षम भएका छन्,’ उनले भने, ‘अहिलेका खेलमै भविष्य खोजेर लागेका खेलाडीहरुलाई पूर्वाधारको कमी नहुनेगरी राज्य वा नेतृत्वले सोच्नुपर्ने जरुरी छ।
कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले परिषद बनेदेखि नै खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा छलफल चलिरहेको बताए। ‘खेलाडीलाई प्रोत्साहन गर्न पहिलो आवश्यकता त पूर्वाधार नै देखिन्छ,’ उनले भने, ‘तत्कालका लागि क्रिकेटको अभ्यास खेलका लागि उपयुक्त हुने मैदान नेतृत्वले खोज्न सके परिषदले बलिङ मेसिनको व्यवस्था गरीदिनेछ।’
परिषदका सदस्य सचिव विश्वमित्र सञ्जेलले खेलाडी र खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिस्पर्धामा जोड दिनुपर्ने बताए। प्रदेश खेलकुद परिषदले यसमा विशेष ध्यान दिएको उनले बताए। कर्णाली प्रदेश क्रिकेटमा पछाडि नै भएपनि खेलाडीको प्रस्तुति उत्साहजनक भएकाले अझै मेहनत गर्नुपर्ने उनले बताए।
कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद गर्ने लक्ष्यका साथ परिषद अगाडि बढेकोले यसलाई मध्यनजर गरेर भएपनि समयमै पूर्वाधारहरु निर्माण गर्नुपर्ने उनले बताए।
कर्णाली टाइम्स
बिहीबार, माघ ६, २०७८
