
सुर्खेत। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा १८९ जना मतदाताले मतदान गरेका छन्। बुधवार भएको निर्वाचनमा कुल १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका हुन्।
प्रदेश सभा र स्थानीय तहका एक/एक जना पदाधिकारी मतदानमा उपस्थित नभएको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ। निर्वाचनपछि कर्णाली प्रदेशको मतगणना पनि सुरु भईसकेको छ। अबको केही समयमा नतिजा आईसक्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी शाखा अधिकृत निर्मला रेग्मीले बताईन्।
कर्णाली प्रदेशको मतदानमा सहभागी नहुनेमा तिलागुफा नगरपलिकाका उपमेयर दन्ता नेपाली र राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सोशिला शाही रहेका छन्।
उपमेयर नेपाली केही बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन्। राप्रपाको केन्द्री कमिटीको सर्कुलर अनुसार आफू मतदानमा सहभागी नभएको सांसद् शाहीले बताईन्।
कर्णाली प्रदेशमा तीनजना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको हो।
कर्णाली प्रदेशबाट एमालेका महिलामा जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुँडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझी उम्मेदवार छन्।
सत्ता गठबन्धनबाट कर्णालीमा महिलातर्फ नेपाली कांग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार छन्।
कर्णाली टाइम्स
बुधबार, माघ १२, २०७८
