
सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषदले आज पूर्णता पाउँदैछ। मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन्। आज बेलुका ७ बजे पाँच जना मन्त्रीहरुले सपथ लिँदैछन्।
नेकपा माओवादी केन्द्रबाट दुई, नेपाली काँग्रेसबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट एकजना मन्त्री बन्दैछन्।
मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार नेपाली काँग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्दैछन् भने यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्री बन्दैछन्। बुढाक्षेत्री यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा पनि सामाजिक विकास मन्त्री थिए।
बुढाक्षेत्री सुर्खेतका हुन् भने शाही दैलेखका हुन्। शाही काँग्रेस कर्णाली प्रदेश सभा दलका सचेतक पनि हुन्।
यस्तै माओवादीबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बन्दैछन्। गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन लामा) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्दैछन्।
समाजवादीबाट पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बन्दैछन्।
यसअघि माओवादीबाट विन्दमान विष्ट अर्थमन्त्री छन् भने समाजवादीबाट प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाही कृषि मन्त्री छन्।
कर्णाली टाइम्स
आइतवार, माघ २३, २०७८
