सोमवार, कार्तिक १०, २०८२

कर्णालीका नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

  
कर्णाली टाइम्स आइतवार, माघ २३, २०७८


सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। आईतबार प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा (एकीकृत समाजवादी) बाट एक जनालाई आजै मन्त्री नियुक्त गरेका हुन्।
आफू मुख्यमन्त्री बनेको ३ महिनापछि शाहीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। आज पाँच जना मन्त्री थपिएपछि कर्णाली प्रदेशको ८ सदस्यीय मन्त्रिपरिषद पूर्ण बनेको छ।
मुख्यमन्त्री शाहीले यसअघि नेकपा (एस) कर्णाली प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाएका छन्। माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिसकेका थिए।
आईतबार नेपाली काँग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। यज्ञ बुढाक्षेत्री सामाजिक विकास मन्त्री बनेका छन्।
यस्तै माओवादी केन्द्रबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बनेका छन्। माओवादीले एकजना गैरसांसदलाई पनि मन्त्री बनाएको छ। हुम्लाका छिरिङ डुम्डुल लामा (कार्चेन)लाई माओवादीले मन्त्री बनाएको हो। उनी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।
समाजवादीबाट जुम्लाका सांसद पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनेका छन्।