बिहीबार, कार्तिक ६, २०८२

कर्णाली प्रदेशको मन्त्रिपरिषद समावेशी नभएको भन्दै उच्च अदालतमा रिट

  
कर्णाली टाइम्स मंगलबार, माघ २५, २०७८


सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद विस्तार गर्दा समावेशी सिद्धान्त अवलम्बन नगरिएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको छ। मंगलबार अधिवक्ता शेरबहादुर खत्री र ईनसेकका प्रलेख अधिकृत टिका बिष्टले उच्च अदालत सुर्खेतमा रिट हालेका हुन्।
संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तलाई ख्याल नगरी मन्त्रिपरिषद विस्तार गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर रिट हालिएको हो।
पछिल्लो पटक पाँच जना मन्त्री थप्न प्रदेश प्रमुखको कार्यालयले गरेको निर्णय बदर, नियुक्त भएका मन्त्रीहरुलाई कामकारबाही रोक्न, समावेशि सिद्धान्तका आधारमा महिला र दलितको प्रतिनिधित्व हुनेगरी पुनः मन्त्रिपरिषद विस्तार गर्ने आदेश जारी गर्न माग गर्दै रिट हालिएको हो।
आईतबारे पाँच जना मन्त्री थपेर कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिईएको थियो। पछिल्लो मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट मन्त्री छैनन्।
समावेशितलाई ख्याल नगरी मन्त्रिपरिषद विस्तार गरिएपछि कर्णालीको मन्त्रिपरिषदबारे आलोचना भईरहेको छ।