बुधबार, कार्तिक १२, २०८२

सुर्खेत उद्योग वाणिज्य संघमा विवादः सहमतिविपरित एकलौटी निर्वाचन तालिका सार्वजनिक

  
कर्णाली टाइम्स बुधबार, चैत्र १६, २०७८


सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघमा भएको विवाद समाधान नहुँदै एक पक्षले कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम घोषणा गरेको छ। मंगलबार संघका अध्यक्ष धनबहादुर रावतसहितका पदाधिकारीको समूहले एकलौटी रुपमा चैत २६ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो।
सदस्यता खारेजीमा परेका व्यवसायीहरुको मागलाई लिएर गत माघदेखि सुर्खेत उद्योग वाणिज्य संघमा विवाद जारी छ। व्यवसयीका मागबारे संघका पदाधिकारीहरु नै दुई धारमा बाँडिएका छन्।
लगातार दुई आर्थिक बर्षसम्म नविकरण नगराई खारेजीमा परेका व्यवसायीहरुले आफूहरु कोभिड महामारीका कारण नविकरण हुन नसकेको भन्दै विशेष व्यवस्थाबाट आफूहरुको सदस्यतालाई निरन्तरता दिन माग गरेका छन्। यस्तो माग गरेका व्यवसायीका पक्षमा बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कासहितका पदाधिकारी तथा सदस्यहरु उभिएका छन् भने अध्यक्ष रावतलगायतका पदाधिकारी तथा सदस्यहरु यो माग पूरा गर्न नसकिने अडानमा छन्।
माघ २८ गते अध्यक्ष रावतसहितको समूहले व्यवसायीका यी माग पूरा गर्न नसकिने र चैत २६ गते निर्वाचन गर्ने निर्णय बहुमतले पारित गरेको थियो। त्यसयता सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा दुईपटक तालाबन्दी भएको छ।
माघ २८ गते लगाईएको ताला दुई पक्षबीच भएको भद्र सहमतिपछि खोलिएको थियो। त्यो सहमति सहमति अध्यक्ष रावतसहितका पदाधिकारीले कार्यान्वयन नगरेपछि फागुन ३० गते व्यवसायी र असन्तुष्ट पक्षले फेरि तालाबन्दी गरेका थिए। पछिल्लो पटक लगाईएको ताला खोलिएको छैन।
असहमतिकै बीच एक पक्षले चैत २६ गते नै निर्वाचन गर्ने घोषणा गरेपछि व्यवसायीका पक्षमा रहेको बरिष्ठ उपाध्यक्ष खड्काको समूहले विज्ञप्ति जारी गरी असहमति जनाएको हो। व्यवसायीका माग पूरा गर्न नसकिने अडानमा रहेको समूहले निर्वाचन समिति सचिवालयको स्थापनासँगै मतादाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
संघका पूर्व अध्यक्ष प्रकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, उद्योग उपाध्यक्ष गणेश वस्नेत लगायतका सदस्य तथा पदाधिकारीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाएका हुन्।
सहमति, सहकार्य र एकताको माध्यमबाट समग्र उद्योगी, व्यवसायीहरुको हक अधिकार स्थापित गर्नुपर्नेमा संघमा एकलौटी ढंगबाट सहमतिका ढोका बन्द गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको उनीहरुले टिप्पणी गरेका छन्। निर्वाचन कार्यतालिका आफूहरुलाई स्वीकार्य नभएको पनि उनीहरुले बताएका छन्।
सुर्खेतका व्यवसायीहरुलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउने षड्यन्त्र अनुरुप चैत २६ गते चैते दशैंको दिनमा निर्वाचन घोषणा गरिएको टिप्पणी विज्ञप्तिमार्फात गरिएको छ।
पदाधिकारीको निर्णयले आफूहरु नेतृत्व चयन गर्ने मताधिकारबाट बञ्चित भएको असन्तुष्ट व्यवसायीले समेत गुनासो गरेका छन्।
सुर्खेत उद्योग वाणिज्य संघभित्र विवाद बढ्दै गएपछि समाधानका लागि भनेर फागुन २० गते समाधान समिति गठन गरिएको थियो। पूर्वअध्यक्षहरु र वर्तमान अध्यक्ष सम्मिलित उक्त समितिले बेलाबेला समाधान हुनेखालका निर्णय गरे पनि कार्यान्वयनमा आफैं चुकेको थियो।
यसअघि प्रशासनको रोहबरमा दुवै पक्षबीच भएको छलफलका क्रममा सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा दुईजना निर्वाचन अधिकृत राख्ने, चैत २६ गते तोकिएको निर्वाचन मिति सारेर २०७९ वैशाख ३ गतेलाई सार्ने, निर्वाचनमा सहभागी हुने मतदाता सदस्हरुमाथिको छानविन गर्ने, खारेजीमा परेका सदस्यहरुले दिएका निवेदनमाथि विस्तृत छलफल गर्ने सहमति भएको थियो।
सोहीअनुसार पूर्वअध्यक्ष सम्मिलित विवाद समाधान समितिले निर्णय पनि गर्दै आएको थियो
व्यवसायीहरुले आफूहरुमाथि विधान बमोजिम हुने कारबाही विशेष व्यवस्था गरी फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन्। विधानमा लगातार दुई आर्थिक वर्ष नवीकरण नभएको सदस्यता स्वतः खारेज हुने व्यवस्था छ।
व्यवसायीले यो विषय आफूहरुले आत्मसात् गरे पनि विशेष परिस्थितिका कारण आफूहरु नवीकरण नभएको बताएका छन्। अर्को कुनै विशेष व्यवस्थाबाट अगाडि बढ्न माग राख्दै आएका छन्।
लगातार दुई आर्थिक वर्षसम्म सदस्यता नवीकरण नगरेमा स्वतः खारेज हुने व्यवस्था विधानमा छ। विधानमा प्रत्येक वर्ष वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्थासमेत छ। असन्तुष्ट व्यवसायीहरुले यही विषयलाई टेकेर आफ्ना माग अगाडि सारेका हुन्।
कार्यसमितिले कोभिड–१९ को प्रभाव देखाएर दुई वर्षमा एकैपटक साधारणसभा गरेपछि दुई वर्षसम्म नवीकरण नभएको सदस्यता विशेष व्यवस्थामार्फत निरन्तर हुनुपर्ने माग व्यवसायीहरुको छ।