आइतवार, कार्तिक ९, २०८२

कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता

  
कर्णाली टाइम्स आइतवार, चैत्र २०, २०७८


सुर्खेत। कर्णाली नदीमा मिनीबस खस्दा एकजना बेपत्ता भएका छन्। आइतबार कालीकाटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजार बीचको भागमा पर्ने जीतेगडा–कोल्टी सडकखण्डबाट कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस कर्णाली नदीमा खसेको हो।
दिउँसो २ः४० मिनीबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा मिनीबसका सहचालक वेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरीमा भएको ईन्ट्री रेकर्डअनुसार उक्त गाडीमा चालक कृष्णबहादुर शाही, सहचालक र एकजना महिला पचालझरना गाउँपालिका–८ की सलानी सार्की सवार थिए।
दुर्घटनामा परि चालक शही र बसमा सवार सार्की घाईते छन्। चालक शाही बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। वेपत्ता भएका सहचालकको भने पहिचान खुलेको छैन।
गाडी नदीभित्रै डुबेको छ। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी टोली गईरहेको छ।
प्रहरीका अनुसार उक्त मिनीबस पचालझरना गाउँपालिकाको लालीगाडदेखि पलाँता गाउँपालिकाको थीर्पु जान लागेको थियो।