
सुर्खेत। शनिबार कर्णाली प्रदेश अस्पताल परिसरमा एक कुकुरले मुखमा च्यापेर शव डुलाएको शिशुको पहिचान भएको छ। प्रदेश अस्पताललाई नै आलोचित बनाएको उक्त दृश्यपछि प्रहरीले यसबारे अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा दैलेखको आठविस नगरपालिकाका एक दम्पत्तिको मृत जन्मिएको शिशुको शवलाई कुकुरले समातेर परिसरमा ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पार्किङ क्षेत्रमै बसेका कसैले सामुदायिक कुकुरले बच्चाको शव समातेर डुलाएको दृश्य मोवाईलमा कैद गरेका थिए।
कुकुरले समातेको शिशुको शवबारे अनुसन्धानका लागि अस्पतालले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई शनिवार नै आग्रह गरेको थियो।
सोही दिनबाट अस्पताल र आसपासका सिसी क्यामेरामा समेत कैद भएको भिडियोहरु ल्याएर प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार अनुसार मृत शिशु दैलेखको आठविस नगरपालिका–९ का गोपाल विक र पवित्रा बिकको भएको खुलेको हो।
प्रदेश अस्पतलमा सुत्केरी हुन आएकी पवित्राबाट चैत १४ गते मृत बच्चा जन्मिएको थियो।
अस्पतालले उनका परिवारलाई मृत शिशु जिम्मा लगाईसकेको थियो। तर उनीहरुले अस्पताल परिसरको जंगल क्षेत्रमा मृत बच्चालाई गाडेको पाईएको प्रहरीले जनाएको छ।
आइतबार उक्त शिशुको सनाखत गराई पुनः सुरक्षित रुपमा दाहसंस्कार गर्न बुवा गोपाल विकलाई जिम्मा लगाईएको छ।
कर्णाली टाइम्स
सोमवार, चैत्र २१, २०७८
