
सुर्खेत। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हुम्लामा दुईवटा मतदान केन्द्र थप भएका छन्। अब हुम्लामा ५४ वटा मतदान केन्द्र भएका छन्। मतदाता संख्याका आधारमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका ७ को टुलिङ र ताँजाकोट गाउँपालिका ३ थापागाउँमा २ वटा उपकेन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।
एक हजारभन्दा बढी मतदाता संख्या रहेका ५ वटा मतदान केन्द्र भए पनि निर्वाचन आयोगले २ वटा केन्द्रमा मात्र उपकेन्द्र थप गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुक्तिनन्द रावलले जानकारी दिए।
२०७४ को स्थानीय तह निर्वाचनमा ५२ वटा मात्र मतदान केन्द्रबाट मतदान भएको थियो।
यो पटकको निर्वाचनका लािग जिल्लाका नाम्खा गाउँपालिकामा १० वटा, सिमकोटमा ९ वटा, खार्पुनाथमा ५ वटा, सर्केगार्डमा ११ वटा, चंखेलीमा ७ वटा, अदानचुलीमा ६ वटा र ताँजाकोटमा ६ वटा मतदान केन्द्र कायम भएका छन्।
अहिले हुम्लाको मतदाता संख्या ३२ हजार ५८१ छ। गत निर्वाचनमा २९ हजार ३८८ मतदाता थिए। यसपटक ३ हजार १ सय ९३ मतदाता थपिएका छन्। कुल मतदातामध्ये १५ हजार ६ सय ७ जना महिला छन् भने १६ हजार ९७४ पुरुष छन्।
कर्णाली टाइम्स
मंगलबार, चैत्र २२, २०७८
