शनिबार, कार्तिक ८, २०८२

उद्योग वाणिज्य संघमार्फत गठबन्धन फुटाल्ने एमालेको प्रयास

  
कर्णाली टाइम्स आइतवार, चैत्र २७, २०७८


सुर्खेत। निजी क्षेत्रको छाता संस्थाको रुपमा रहेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी वैशाख ४ गते हुँदैछ। संघमा परम्परागत रुपमा कांग्रेस निकट व्यापारी तथा व्यवसायीहरुको बाहुल्यता रहेको छ। तर यस पटकको निर्वाचनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धन फुटाउने रणनितिको रुपमा लिएको छ।
कांग्रेसले वर्तमान वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्काको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको छ। खड्काको नेतृत्वमा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई समेट्ने कांग्रेसले प्रयास गरिरहेको छ। तर एमालेले गठबन्धन दलका व्यापारी व्यवसायीहरुलाई एक ठाउँ जुट्ने अवस्था दिएको छैन। एमालेले संघमा वर्तमान महासचिव रहेका कांग्रेसनिकट लक्ष्मण कँडेललाई अघि बढाइरहेको छ।
‘एमालेले स्थानीय तह निर्वाचनलाई समेत मध्य नजर गरेर उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादीलाई कुनै हालतमा पनि जुट्न नदिने रणनीति बनाएको छ, उसले संघको निर्वाचनबाट कांग्रेसलाई फुटाउन जोडबल गरिरहेको छ,’ एक व्यापारी नेताले भने।
संघको २०७५ को निर्वाचनमा कांग्रेसले धनबहादुर रावतलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको थियो। यसले गर्दा उतिबेला कांग्रेस एक्लै लड्दा जितेको थियो। कांग्रेसको एउटा समूह, माओवादी र एमाले मिल्दा समेत रावतले जितेका थिए। यस पटक खड्कालाई कांग्रेसले आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको छ। कांग्रेस निकट ति व्यापारीले स्थानीय तह निर्वाचन र सत्ता गठबन्धनको भावनाअनुसार कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई समेट्ने प्रयास भइरहेको बताए।
कांग्रेसकै संस्थापन इतर समूहले कँडेललाई अघि सार्न प्रेरित गरेको छ। तर पार्टीले आधिकारिक निर्णय गरिसकेको अवस्थामा उक्त समूहको भूमिका के हुन्छ भन्नेबारे अहिल्यै अनुमान गर्न सकिने अवस्था छैन। किन भने गत निर्वाचनमा हालको संस्थापनइतर समूह संस्थापनमा रहेको थियो। संस्थापनको हैसियतले रावतलाई निर्णय गर्दा उतिबेला संस्थापन इतरमा रहेका कांग्रेस नेता र व्यापारिक नेताहरुले पार्टीको निर्णय स्वीकारेका थिए।
‘यस पटक प्रमुख प्रतिपक्षी एमालेको ग्राण्ड डिजाइनमा कांग्रेस र सत्ता गठबन्धनमा खलल पु¥याउने काम हुँदैछ, यसमा संस्थापन इतरले कत्तिको विवेक पु¥याउँछ भोलिको दिनमा थाहा हुनेछ,’ ति नेताले भने।
व्यापारीका अनुसार अध्यक्षका प्रत्यासी कँडेलसँग एमालेका नेताहरु निरन्तर सम्पर्कमा छन्। संघमा एमालेको मत निर्णायक नभए पनि एमाले नेताहरुले जसरी पनि जिताउने भन्दै कँडेललाई ढाडस दिइरहेका छन्। यदि कँडेललाई निर्वाचनमा अघि सार्न सकिएमा गठबन्धन दल, तिनका व्यापारी बिच फाटो आउने र त्यसले स्थानीय तहको निर्वाचनमा फाइदा पुग्ने एमालेको हिसाब छ।
एमाले सुर्खेतबाटै गठबन्धनमा दरार ल्याउन चाहन्छ। त्यसको लागि उसले संघको निर्वाचनलाई उपयुक्त अवसरको रुपमा लिएको छ। अहिले केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन बिच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ। यी दलहरुले हरेक फोरममा एक आपसमा मैत्रीपूर्ण व्यवहार गर्ने निर्णय गरेका छन्।
तर राजनितिक दलसँग जोडिएका व्यापारीहरुको साझा संस्थाको रुपमा रहेको संघको निर्वाचनमा एकता हुन सकेन भने त्यसले स्थानीय तहको निर्वाचनलाई धक्का पुर्याउने एक व्यापारी नेताले बताए।