शुक्रबार, बैशाख १४, २०८१

सुर्खेत उद्योग वाणिज्य संघ निर्वाचनः हर्षविक्रम नेतृत्वको समूहलाई निर्वाचित गराउन दलहरुको आह्वान

  
कर्णाली टाइम्स मंगलबार, चैत्र २९, २०७८

सुर्खेत। आसन्न सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा हर्षविक्रम खड्का नेतृत्वको साझा व्यवसायी समूहलाई जिताउन गठबन्धन दलहरुले संयुक्त रुपमा आह्वान गरेका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जिल्लास्थित प्रमुखहरुले मंगलबार संयुक्त रुपमा आह्वान गरेका हुन्।

यी दलहरुनिकट व्यवसायीहरुको समूह हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ।

‘जिल्लाको समग्र विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन, व्यावसायिक हकहित तथा उन्नयनलाई सशक्त बनाउन र सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेती व्यवसायीहरुको साँचो अर्थमा साझा संस्था बनाउन अध्यक्ष पदका उम्मेदवार हर्षविक्रम खड्काले नेतृत्व गरेको साझा व्यवसायी समूहका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्दछौं।’ दलका सुर्खेतस्थित प्रमुखहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

२०७९ वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघमा अहिले दुईवटा समूह चुनावी मैदानमा उत्रिएका छन्।यो समूहको प्रतिस्पर्धीका रुपमा हालका महासचिव लक्ष्मण कँडेलको नेतृत्वमा अर्को समूह चुनावी मैदानमा उत्रिएको छ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा नेपाली काँग्रेसको तर्फबाट सुर्खेत सभापति खड्क पोखरेल, नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक जीतबहादुर राना, समाजवादीका तर्फबाट अध्यक्ष मोहन बडुवाल र जनता समाजवादीका तर्फबाट अध्यफ फत्तबहादुर सोतीमगरले हस्ताक्षर गरेका छन्।