सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको चुनावमा गरिएको गठबन्धन नटुट्ने बताएका छन्। पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहिवार सुर्खेत आएका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै आगामी चुनावमा पनि गठबन्धनले निरन्तरता पाउने संकेत गरेका छन्।
गठबन्धनका क्रममा दलबाट भएका कमीकमजोरीहरुलाई समिक्षा गरी सुधार्दै अगाडि बढ्ने उनले बताए। गठबन्धनका बीचमा कुनै दल वा नेताले अहंकार नदेखाउन समेत नेपालले आग्रह गरे।
‘कतिपयले शंका गरेका छन् की यो गठबन्धन टुट्छ भन्ने, गठबन्धन टुट्नेवाला छैन,’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनमा भएका कमीकमजोरीलाई स्वीकारेर सुधार गर्नुपर्छ, कसैले अहंकार अपनायो भने उ आफै विनास हुन्छ ।’
उनले अहिले पार्टीभित्र चुनावी समिक्षा भईरहेको बताए। पहिलो पटक स्थानीय चुनावमा लडेको नेकपा एकीकृत समाजवादीले गर्व गर्न लायक सफलता हाँसिल गरेको उनले बताए ।
‘पोखरा र हेटौंडा लगायतका ठाउँमा हामीले योग्य र काबिल व्यक्तिलाई उम्मेदवार बनाएर सफलता हात पार्यौं, निर्वाचनको यो परिणामले हाम्रो पार्टीमा काबिल व्यक्तिहरु छन् भन्ने देखाएको छ।’ नेपलले भने ।
पार्टीका निर्वाचित जनप्रतिनिधिहरुलाई जिम्मेवारपूर्वक ईमानदार भएर काम गर्न पार्टीले प्रशिक्षण दिने अध्यक्ष नेपालले बताए। उनले कतिपय ठाउँमा म तबदर भएर केही सिट पार्टीले गुमाउनुपरेको बताए।
उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि पार्टी आन्तरिक तयारीमा जुटेको बताए।
अध्यक्ष नेपालले संघीय सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटले जनताको भावना समेटेको बताए। उनले अहिलेको यो बजेटलाई चुनावी बजेट भनेर टिप्पणी गर्नु गलत भएको बताएका छन्।
‘बजेटमा भएका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘यो संसद भंग गरी ल्याएको जस्तो चुनावी बजेट होईन, चुनावका बेला आएको विशेष बजेटका रुपमा हेर्न सकिन्छ।’
नेकपा (एस)का अध्यक्ष नेपाल सुर्खेतमा पुष्पलाल स्मृति फाउण्डेशनद्वारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि सहभागी भएका छन्।
कर्णाली टाइम्स
बिहीबार, जेष्ठ १९, २०७९