सोमवार, असार १६, २०८२

कर्णालीमा २३९ जना डेंगीका बिरामी, प्रदेश अस्पतालमा मात्र १८८ जना

  
कर्णाली टाइम्स बिहीबार, असोज ६, २०७९


सुर्खेत। कर्णाली प्रदेशमा ९ जिल्लामा डेंगी संक्रमण फैलिएको छ। हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार हालसम्म प्रदशेभर २३९ जना बिरामी छन्।
सबैभन्दा धेरै डेंगीका बिरामी सुर्खेतमा छन्। सुर्खेतमा मात्र १८८ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यले जानकारी दिए।
उनका अनुसार कालीकोटमा १२, सल्यानमा १०, जुम्लामा ७, मुगुमा ६, रुकुम पश्चिममा ५, जाजरकोटमा २ जना डेंगीका बिरामी छन्। दैलेख र डोल्पामा एक÷एक जना बिरामी छन्।
डेंगी संक्रमण हुने यो मुख्य सिजन भएकाले कात्तिकसम्म संक्रमणको जोखिम रहेको आचार्यले बताए। ‘अहिलेको यो पिक समय भएकाले संक्रमण धेरै देखिएको छ, यसको जोखिम कात्तिक सम्म रहन्छ,’ उनले भने, ‘यसको रोकथाम तथा नियन्त्रणका लागि प्रचारप्रसार हामीले गरिरहेका छौं।’
निजी तथा सरकारी संस्थाका स्वास्थ्यकर्मीहरुलाई यसबारेमा प्रशिक्षण दिईएको उनले बताए।
यो बर्षको हालसम्म कर्णाली प्रदेशमा डेंगीबाट कसैको मृत्यु भने भएको छैन।
डेंगी जाँच गर्ने कीटहरु सबै जिल्लामा पठाईएको आचार्यले बताए। कर्णाली प्रदेश अस्पतालमा सबैभन्दा धेरै कीट दिईएको छ। ‘सबै जिल्लाहरुका कीट पठाएका छौं, कतिपय जिल्लामा लगिँदैछ।’ उनले भने।
आर्थिक बर्ष ०७८/७९ मा कर्णालीमा डेंगी संक्रमण देखिएको थिएन। अघिल्ला केही बर्षहरुमा भने प्रदेशमा ८०० जनासम्मलाई डेंगी संक्रमण भएको थियो।