सुर्खेत। बालवालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकारकर्मीहरुले अधिकार सुनिश्चित गर्न आफ्नो ठाउँबाट पैरवी गर्ने बताएका छन्।
सेभ द चिल्ड्रेनको सहयोगमा बाल अधिकारका लागि साझा अभियानले आयोजना गरेको दुई दिने बाल अधिकारमा आधारित पैरवी तालिममा सहभागी उनीहरुले बाल अधिकार संरक्षणका लागि प्रक्रियामा रही पैरवी गर्ने बताएका हुन्।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका महासचिव महेन्द्रकुमार कार्कीले बालअधिकार विषयमा कसरी वकालत गर्ने भन्ने बारेमा सिकाई भएकोले अबका दिनमा पैरवी गर्न सहज हुने बताए। सबै पक्षले आफ्नो क्षेत्रबाट पैरवी गर्न सके बाल अधिकार सुनिश्चत गर्न सहयोग पुग्ने उनले बताए।
सामाजिक विकास मन्त्रालयको महिला विकास महाशाखाका अधिकृत यशोदा कुमारी शर्माले पनि बालअधिकार सुनिश्चित गर्न तालिमले सहजता तुल्याएको बताईन्।
बाल अधिकारका लागि साझा अभियानका अध्यक्ष टिकाराम आचार्यले तालिमले बालबालिकाको क्षेत्रमा पैरवी गर्न सहज हुने भन्दै यसले बालअधिकार सुनिश्चित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने बताए।
तालिममा विज्ञ तारक धितालले प्रशिक्षण गरेका थिए।
कर्णाली टाइम्स
आइतवार, असोज ९, २०७९