शुक्रबार, बैशाख १४, २०८१

कर्णालीका मुख्यमन्त्री शर्मालाई स्वतन्त्रसहित २५ जना सांसदले दिए विश्वासको मत

  
कर्णाली टाइम्स शुक्रबार, माघ ६, २०७९


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शुक्रबारको प्रदेश सभा बैठकबाट उनले २५ जना सांसदको विश्वासको मत पाएका हुन्।
उनलाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, समाजवादीका १ र स्वतन्त्र १ जना सांसदले विश्वासको मत दिएका छन्। मुख्यमन्त्री शर्माले माघ ३ गते आफूले विश्वासको मत लिने जानकारी संसदलाई गराएका थिए।
विश्वासको मतको प्रस्तावमाथि कर्णाली प्रदेश सभाका ४० मध्ये ३९ जनाले जनाले मतदान गरेका थिए। जसमध्ये शर्मालाई विश्वासको मत दिने सांसदको संख्या २५ छ। प्रमुख प्रतिपक्षी दले नेपाली काँग्रेसका १४ जना सांसदले उनको विपक्षमा मत दिएका छन्।
संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिईसक्नुपर्छ। मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन्।
नेकपा माओवादी केन्द्रका शर्मालाई मुख्यमन्त्री बनाउन माओवादीसहितका चार दलले समर्थन गरेका थिए। मुख्यमन्त्रीमा उनलाई माओवादी, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरि २५ जना सांसदले समर्थन गरेका थिए।
विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शर्माले मन्त्रिपरिषदमा केही सदस्य थप गर्ने भएका छन्। उसअघि उनले नेकपा एमाले र माओवादी केन्द्रबाट एक÷एक जना मन्त्री नियुक्त गरेका थिए। उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।