शुक्रबार, असार २०, २०८२

उपचारात्मक कक्षा सञ्चालनका शिक्षकलाई तालिम

  
कर्णाली टाइम्स बिहीबार, बैशाख २८, २०८०

सुर्खेत। विद्यार्थीहरुको सिकाई उपलब्धी सुधारका लागि शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ। पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर-२ परियोजनामार्फत शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन गरिएको तालिममा जाजरकोटको भेरी नगरपालिका, कुशे गाउँपालका र शिवालय गाउँपालिकाका कक्षा ९ र १० मा अध्यापन गराउने शिक्षकहरु सहभागी भएका छन्।

कमजोर सिकाई स्तर भएका कारण बालवालिकाले बिद्यालय छोड्ने अवस्थाको अन्त्य गर्न र बिद्यार्थीहरुको सिकाई उपलब्धी सुधारका लागि बिद्यालयमा उपचारात्मक कक्षा चलाउन अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई तालिम प्रदान गरिएको सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईले बताए।

शिक्षकहरुलाई प्रदान गरिएको तालिमले कमजोर सिकाई स्तरका कारण बिद्यालयमा नियमित उपस्थित नहुने, सामाजिक र आर्थिक कारणले विद्यालय छाडेर श्रम गर्न बाध्य बालवालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्ने उनले बताए।

बिहिबारबाट सुरु भएको तालिमको पहिलो दिन मानव संसाधन विकास केन्द्र सुर्खेतका अधिकृत सुवर्णकुमार खड्का र सेभ द चिल्ड्रेनका शिक्षा ब्यवस्थापक भट्टराईले सहजीकरण गरेका छन्। दोस्रो र तेस्रो दिन अग्रेजी, गणित र विज्ञान बिषयका विषय विज्ञहरुले सहजीकरण गर्ने पहाडी क्षेत्र विकास अभियान जाजरकोटका शिक्षा परियोजना संयोजक केशवकुमार बिसीले जानकारी दिए।

तालिममा जाजरकोटका तीनवटा पालिकाका १६ वटा विद्यालयमा कार्यरत अंग्रेजी, गणित र विज्ञान विषयका ४१ जना शिक्षकहरु सहभागी छन्।