शुक्रबार, असार २०, २०८२

चुनावमा प्रतिस्पर्धा गरेपनि विकास र समृद्धिका लागि एक हौं : खड्का

  
कर्णाली टाइम्स आइतवार, कार्तिक ४, २०८१


सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलहरुबीच चुनावमा प्रतिस्पर्धा भएपनि भूगोलको विकास र जनताको समृद्धिका लागि प्रतिस्पर्धा आवश्यक नभएको बताएका छन्। आइतबार भेरीगंगा नयाँ शहर आयोजनाको कार्यालय भवनको शिलान्यास गर्नेक्रममा खड्काले विकास र समृद्धिका लागि दल र दलका प्रतिनिधि एक हुनुपर्ने औंल्याए।
‘चुनावमा हामी दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविकै हो, तर विकासका सन्दर्भमा हामीबीच प्रतिस्पर्धा नै छैन,’ उनले भने, ‘भूगोलको उचित विकास र जनताको समृद्धिका लागि हामीले प्रतिस्पर्धा गर्नुपर्दैन, यसका लागि हामी ऐक्यवद्ध भएर लाग्नु जरुरी छ।’
प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वउपप्रधान तथा रक्षा मन्त्री खड्काले स्रोतको सुनश्चितता नहुँदा र राजस्व नउठ्दा देशमा विकास हुन नसकेको बताए। जनप्रतिनिधिले विकासको लहर ल्याउने सपना देखेपनि स्रोतको कमीले रहर पूरा हुन नसकेको उनको भनाई छ।
उनले निर्माणमा हुने ढिलाईका कारण देशको पुँजीगत खर्च दयनीय देखिएको र समयमै विकास गर्न नसकिएको बताए। ‘निर्माणमा हुने ढिलाईले पुँजीगत खर्च दयनीय छ, यस्तै विभिन्न कारणले मुलुकको अर्थतन्त्र समस्यामा छ,’ उनले भने, ‘सरकारले ऋणपत्र जारी गरेर मुलुक चलाउनुपरेको छ, यो अवस्थामा समयमै विकास गर्न सकिएको छैन।’
भेरीगंगा नयाँ सहर आयोजनाले पूर्णरुपमा आकार लिन सके कर्णाली प्रदेशको पहिचान बदलिने उनले बताए। यो सहरले पूर्णरुपमा आकार लिन अझ २५ बर्ष लाग्ने खड्काले बताए। नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये भेरीगंगा आधुनिक सहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि तिव्र गतिमा काम गर्न आयोजनालाई उनले आग्रह गरे।
पछिल्लो समय निर्माणको प्रक्रियामा जाँदा सहरको आकार घटेको औंल्याउँदै खड्काले यसका आकार खुम्चिन नदिन आयोजना कार्यालयले समयमै ध्यान दिनुपर्ने सुझाव दिए।
अहिलेको पुस्ताले भावी पुस्तालाई दिने नासोका रुपमा भेरीगंगा नयाँ सहरलाई लिन सकिने उनको भनाई छ।
खड्काले नयाँ सहर आयोजनासँग समन्वय नगरी जथाभावी बाटो निर्माण नगर्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई आग्रह गरेका छन्। ‘नदीको किनारमा ठूला सडक खन्ने काम नगर्नुहोस्, बरु आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,’ खड्काले भने, ‘साना बाटो बनाउन अनुमति नदिनुहोस्, कम्तिमा १०० बर्षलाई पुग्नेगरि बाटोको आकार छोड्नुस्।’
नयाँ सहरभित्र सडक र अन्य पूर्वाधार कस्ता हुने भन्ने विषयमा प्रारम्भिक डिपीआर तयार भएकाले सोहीअनुसार अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे। सहरको गुरुयोजना बनाउन प्रक्रिया सुरु भएकाले अब बजेटको जोहो गरेर काम सुरु हुने आश्वासन उनले दिए।
उनले आयोजना कार्यालयले सहरको प्रगतिका बारेमा चार–चार महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने बताएका छन्। सार्वजनिक सुनुवाईमार्फत नै जनप्रतिनिधिबाट सरकारलाई भन्नुपर्ने विषय स्थानीय तहका जनप्रतिनिधिलाई भन्न खड्काले आयोजना कार्यालयलाई सुझाव दिएका छन्।
यसैबीच उपसभापति खड्काले सुर्खेतको लेकवेशी नगरपालिका–१ लेखफर्सामा निर्माण हुन लागेको कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवनको पनि शिलान्यास गरेका छन्। आइतबार नै उनले उक्त भवनको शिलान्यास गरेका हुन्।
प्रतिष्ठान भवनको शिलान्यासका क्रममा उनले भवन निर्माणसँगै प्रतिष्ठानलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउनेगरि प्रतिष्ठानका पदाधिकारीले काम गर्नुपर्नेमा जोड दिए।