आइतवार, बैशाख २३, २०८१

उपराष्ट्रपतिले गरे कर्णाली महोत्सवको उद्घाटन, संघले बुझायो १७ बुँदे माग (मागपत्र सहित)

  
कर्णाली टाइम्स मंगलबार, फागुन ६, २०७६

जगतदल जनाला वि.क
सुर्खेत, ६ फागुन । दोस्रो कर्णाली एक्सपोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । मंगलबारदेखी शुरु भएको अर्गानिक सम्मेलन सहितको महोत्सव उद्घाटन गर्दै पुनले राज्यबाट उपेक्षित कर्णालीले संघियता पछि आफ्नो भाग्यको फैसला आफै गर्न थालेको भन्दै यसले राम्रो फल पाउँदै गएको बताए ।

उद्घाटन कार्यक्रममा रुकुम पश्चिमका महिलाहरु पञ्चैबाजा बजाउँदै ।

उनले नेपालको राजनितिक परिर्वतनका लागी कर्णालीले महत्वपुर्ण योगदान गरेको भन्दै ‘समृद्ध कर्णाली सुखी कर्णालीबासी’ नभए ‘समृद्ध नेपाल र सुखी नेपालीको‘ नाराले पुर्णता नपाउने बताए । साधन र स्रोतको भरपुर सम्भावना रहेको कर्णालीले विकासमा वामे सर्दै गरेको बताए । उपराष्ट्रपति पुसका लागि केन्द्र सरकाले पनि विषेश योजनाका साथ बजेट कार्यक्रम ल्याउन सरकारको ध्यानार्कषण गरे । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि दोश्रो कर्णाली एक्सपोले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । नागरिकहरुको आवश्यकक्ता विकास, समृद्धि र असल सुशासन नै भएको भन्दै उनले सोही अनुरुप कर्णाली सरकारले आफ्ना गतिविधि संचालन गरिरहेको बताए ।

यस्तै प्रदेश पाँचकी भूमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले कर्णालीका अर्गानिक उत्पादनलाई आफ्नो प्रदेशमा लिने र त्यहाँको उत्पादनलाई कर्णालीमा पठाई भाइचाराको सम्बन्ध स्थापित गर्न दुई मन्त्रालय बिच सहकार्य भइरहेको बताइन् । पहिला एउटै विकास क्षेत्रमा भएपछि संघियताले अलग्गै प्रदेश बनाएपनि सदैव एकअर्काले मिलेर जान तयार रहेको पौडेलले दावी गरिन् ।

उपराष्ट्रपति पुनलाई १७ बुँदे माग पेश

सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति नन्दबहादुर पुनलाई १७ बुँदे माग पेश गरेको छ । वीरेन्द्रनगरमा सुरु भएको दोश्रो कर्णाली एक्सपोको उद्घाटनमा सहभागी हुन सुर्खेत आएका उपराष्ट्रपति पुन समक्ष संघले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पहल गरिदिन भन्दै मागपत्र पेश गरेको हो ।


ज्ञापनपत्रमा विद्युत विस्तारलाई तिब्रता दिन, सडक संजालको स्तरउन्नती गर्न र यस क्षेत्रका गौरवका आयोजनाहरुलाई छिटो संचालनमा ल्याउन सरकारका तर्फबाट गर्नु पर्ने आवश्यक नीतिगत तथा भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरु गर्न पहल गरिदिन भनिएको छ ।

उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुन ।

त्यस्तै मागपत्रमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र लगानी आकर्षण गर्न आवश्यक नीति निर्माणमा पहल गर्न र प्रदेशलाई अर्गानिक बनाउनका लागि अर्गानिक कृषि अनुसन्धान केन्द्र स्थापना लगाएत आवश्यक नितिगत तयारीका लागि पहल गर्न सहयोग गरिदिन भनिएको छ ।

महोत्सवको उद्घाटनमा कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका सुर्खेत अध्यक्ष धनबहादुर रावतले राज्यले लगानी गरे अनुरुपको प्रतिफल दिन निजिक्षेत्र तयार रहेको बताए । मंगलवारबाट सुरु भएको दोश्रो कर्णाली एक्सपो फागुन १७ गते सम्म संचालन हुनेछ । महोत्सवमा कर्णालीका अर्गानिक उत्पादनको प्रदर्शनी, नविनतम प्रविधिको प्रयोग लगाएतका प्रदर्शनी कक्षहरु राखिएको छ भने पहिलो पटक लण्डन ब्रिज (प्रवेश द्धार) सहित सेल्फी जोनको पनि व्यवस्था गरिएको छ ।