बिहीबार, कार्तिक ८, २०८१

कर्णालीमा बन्यो स्वास्थ्यकर्मीलाई सुरक्षित पोशाक, मुल्य १ हजार !

  
कर्णाली टाइम्स बुधबार, चैत्र १२, २०७६

 


सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरुका लागि लगाउने सुरक्षित पोशाक उत्पादन गरिएको छ । बजारमा स्वास्थ्यकर्मीका लागि पोशाक र अन्य अतिआवश्यक सामग्रीको अभाव देखिएपछि डाक्टरहरुले स्थानीय होजियारी कम्पनीसँग सहकार्य गर्दै उत्पादन सुरू गरिएको हो ।
स्थानीय स्तरमा पाइने विभिन्न सामाग्रीहरुको प्रयोग गरी सुरक्षित पोशाक बनाउन थालेको प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले बताए । सुर्खेत उद्योग वाणिज्य संघ र प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले ५० हजार संकलन गरि सुरक्षित पोशाक (किट) निर्माण कार्य सुरु गरेको डा. केसीले जानकारी दिए । उनका अनुसार उक्त पोशाकको डिजाइन सबै डाक्टरहरु मिलेर गरेका छन् ।
बाहिरबाट ल्याउन अहिले सम्भव नभएको र कोरोना संक्रमण सम्बन्धी काम गर्ने स्वास्थ्यकर्मीका लागि यो किट अत्यावश्यक हुने भएकोले स्थानीय स्तरमा नै उत्पादन गर्न सुरु गरिएको डाक्टरहरुले बताएका छन् ।
किटमा सुरक्षित गाउन, ग्लोब्स, मास्क, प्रोटेक्टिव हेडसेट राखिएका छन् । बाहिरबाट ल्याउँदा प्रतिसेट नेपाली १० हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने भएपनि यहाँ प्रतिसेट एक हजारमा बनाउन सकिने प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्ट डा. डम्बर खड्काले बताए ।
सुपरिटेण्ट डा. खड्काका अनुसार कोरोना भाइरस कपडामा १२ घण्टासम्म बच्ने र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खण्डमा धेरैलाई सर्ने जोखिम भएको हुँदा कोरोना जाँच गर्ने, क्वारेन्टाइनमा बस्ने, सीमा नाकामा बस्ने स्वास्थ्यकर्मीलाई दुइ सेटका दरले वितरण गरिने छ ।
बुधबार दुई सय वटा बराहताल र चौकुने गाउँपालिकाका स्वास्थ्यकर्मीलाई वितरण गरिएको छ ।
सामाजिक विकास मन्त्री दल रावलले संघीय सरकारसँग ५० किट माग गरेको र कर्णालीका डाक्टरले नै उत्पादन गरेका किटहरु गुणस्तरीय भए बाहिरबाट नल्याउने बताए ।