बुधबार, बैशाख १९, २०८१

फोरलेन सडकमा सवारी दुर्घटना बढे, आठ महिनामा ६४ दुर्घटना

  
कर्णाली टाइम्स मंगलबार, फागुन २०, २०७६
वीरेन्द्रनगर बजार क्षेत्रको फोरलेन सडक (तस्बिर : जगतदल जनाला विक)

जगतदल जनाला विक
सुर्खेत । माघ १४ गते मंगलवार कालीकोट महावै गाउँपालिका–३का २० वर्षीय केशर सिंह ठकुरीलाई वीरेन्द्रनगरको गौतमचोक नजिकै फोरलेन सडकमा भे १ ख २२४२ नम्बरको टिप्परले ठकुरी सवार भे६ प २१७८ नम्बरको मोटर साइकललाई २० मिटर परसम्म घिसारेपछि ठकुरीको घटनास्थलमैं मृत्यु भयो । यस्तै त्यसको दुईदिनपछि वीरेन्द्रनगर–१२ पेट्रोल पम्प नजिकै ट्याक्टर मिनी ट्रक एकआपसमा ठोकिँदा ट्याक्टर चालक प्रेम कार्कीको मृत्यु भयो ।
यस्तै आइतवारवीरेन्द्रनगर– ८ दैलेखी चोक नजिक भे १ त ८१७६ नम्बरकोे ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको भे ३ प ७४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर–८ का यमबहादुर विक र खगेन्द्र विक रहेको मृत्यु भयो ।
यी त उदाहरण मात्र हुन सुर्खेत उपत्यका भित्र (सुब्बाकुना देखि बाङ्गेसिमल) सम्म दिनहुँजसो हुने दुर्घटनाबाट धेरैले अकालमै ज्यान गुमाइरहनुपरेको छ । कयौँ अंगभंग हुनुपरेको छ भने कैयौँको जीवन कष्टपूर्ण बनेको छ । असुरक्षाका कारण यात्राका क्रममा कुन बेला दुर्घटनामा परिएला कि भन्ने चिसो मनमा बोकेर हिँड्न यात्रुहरु बाध्य हुनुपरेको छ ।

चालु आर्थिक वर्षको साउन देखि भएका प्रत्येक दुर्घटनामा मृत्यु भइरहेको कर्णाली प्रदेश ट्राफिक कार्यालयल जनाएको छ ।
टा«फिक कार्यालयका अनुसार सुर्खेत उपत्यकाको फोरलेन सडकमा बढी दुर्घटना हुने गरेको छ । साउनमा सुर्खेत भ्यालीभित्रको फोरलेन सडकमा चार सवारी दुर्घटना भएका थिए । जसमा तीन जनाको मृत्यु भएको थियो भने एकजना सामान्य घाइते भएका थिए । भदौमा नौं दुर्घटना भएका थिए । सोही दुर्घटनामा सात जनाको मृत्यु भयो । सात जना गम्भीर घाइते भ एभने २६ जना सामान्य घाइते भए । असोजमा सात दुर्घटना भए । छ जनाको मृत्यु भयो । छ जना गम्भीर घाइते भ एभने एकजना सामान्य घाइते भए । कात्तिकमा भएका दुई दुर्घटनामा एक जनाको मृत्यु भयो । तीन जना गम्भीर घाइते भए । एक जना सामान्य घाइते भए । मंसिरमा १३ वटा सवारी दुर्घटना भएकोमा दुई जनाको मृत्यु भयो । १० जना गम्भीर घाइते भए भने छ जना सामान्य घाइते भए । पुसमा १६ दुर्घटना भए । एकजनाको मृत्यु भयो । १२ जना गम्भीर घाइते भए । पाँच जना सामान्य घाइते भए । यस्तै माघमा १० सवारी दुर्घटना भए । पाँच जनाको मृत्यु भयो । नौजना गम्भीर घाइते भए र १७ जना सामान्य घाइते भए । फागुनको २० गते सम्म तीन वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा चार जनाको मृत्यु भयो । दुई जना गम्भीर घाइते भए । चार जना समान्य घाइते भएका छन् । फोरलेन सडकखण्डमा भएका दुर्घटनामा अहिले मोटरसाइकलको संख्या बढी रहेको प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चालकको लापरबाही
कर्णालीमा सडक दुर्घटना हुनुको मुख्य कारण सडक र चालकको लापरबाही भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर प्रसाद यादवले बताए । उनका अनुसार ट्राफिक नियमको पालना नगरी तीव्र गति र मापसे सेवन गरेर सवारी साधन चाउनु पनि दुर्घटनाको अर्को कारण हो । सुर्खेत फोरलेन सडकमा भएका दुर्घटनामा झण्डै ५० प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको उनको दाबी छ । यस्तै त्यो बाहेक यात्रुको गल्ती, ओभरटेक, यान्त्रिक गडबडी, मदिरापान सेवन गरेर सवारी चलाउँनु, भौगोलिक अवस्था, कमजोर सडक निति र अन्य कारणहरुबाट दुर्घटना हुने गरेको प्रमुख यादवको भनाई छ ।
‘कर्णालीमा यी सबै दुर्घटनाको न्यनिकरण गर्न हामीले कर्णालीका दशवटै जिल्लामा ट्राफिक चलाउने योजना अघि सारेका छौं ।’ प्रमुख यादवले भने, ‘त्यसबाट चालकहरु र यात्रुहरुलाई ट्राफिक नियमका बारेमा सचेतना गराइनेछ ।’

खोई कारबाही ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीको ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ । तर विभागले पनि भने जसरी काम गर्न सकेको छैन ।

चालकहरुले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन् । ट्राफिक प्रहरी भने चालकलाई चेतना जगाउने काममा व्यस्त छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर प्रसाद यादव भने चालक र यात्रु दुइटै नियमभित्र नबस्दा दुर्घटना हुने गरेको बताउँछन् ।

चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरी चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुने यादव बताउँछन् ।

सडक दुर्घटना हुने प्रमुख कारणमा सडक, सवारीसाधन र चालकको अवस्था मुख्य कारण भएकोले पनि न्यूनिकरण गर्न

सरकार, निजी क्षेत्र तथा आम नागरिकको साथ र सहयोग उत्तिकै आवश्यक पर्ने प्रमुख यादवको भनाई छ ।