शुक्रबार, बैशाख २१, २०८१

नेपाल तरुणदल सुर्खेद्धारा ९ वटै स्थानीय तहमा खाद्यान्न वितरण गरिंदै

  
कर्णाली टाइम्स शनिबार, चैत्र २९, २०७६


सुर्खेत । नेपाल तरुण दल सुर्खेतले जिल्लामा सबै स्थानीय तहमा खाद्यान्न सहयोग गरिरहेको छ । विश्वव्ययापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरण्का लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भोगिरहेका नागरिकलाई स्थानीय सरकारमार्फत वितरण गर्नका लागि खाद्यान्न सहयोग गरिएको हो ।
तरुण दलले दिएको खाद्यान्न स्थानीय तहहरुले समस्यामा रहेका आफ्ना नागरिकलाई राहतका रुपमा वितरण गर्नेछन् । लकडाउनका कारण बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो परेका मजदुर तथा अन्य वर्गका लागि खाद्यान्न सहयोग गरिएको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।
राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली बनाएकाले स्थानीय सरकारमार्फत नै नागरिकलाई खाद्यान्न सहयोग गरिएको उनले बताए । ‘एकद्वारा प्रणालीका कारण समस्यामा परेका परिवारलाई सिधै सहयोग प्रदान गर्न पाउने अवस्था छैन,’ अध्यक्ष विष्टले भने, ‘हामीले आफूले सकेको सहयोग स्थानीय सरकारलाई दिन्छौं, सरकारले आफ्ना समस्या परेका नागरिक पहिचान गरी राहतका रुपमा पु¥याउँछ ।’
उनका अनुसार स्थानीय तहमा रहेका तरुण दलको कार्यसमितिसँग पनि यो सहयोगका लागि समन्वय गरिएको छ । योसँगै सहयोग गर्न चाहने अन्य दाताहरुको सहयोग संकलन गरी खाद्यान्न सहयोग गरिएको विष्टले बताए ।
अध्यक्ष विष्टले समस्यामा परेका नागरिकको सही रुपमा पहिचान गरेर मात्र राहत वितरण गर्न सुझाव पनि दिएका छन् । ‘कोही बिहान–साँझको खाना के खाने भन्ने चिन्तामा छन्, तर अरुलाई सहयोग गर्न सक्ने हैसियतकाले राहत बुझेको पाइन्छ,’ उनले भने, ‘स्थानीय सरकारले यस्तो कुरामा ध्यान दिन आवश्यक छ ।’


उनका अनुसार पहिलो चरणमा चिङ्गाड गाउँपालिकामा सहयोगस्वरुप खाद्यान्न बुझाइएको छ । शुक्रबार ३० क्वीन्टल चामल, २०० लिटर खाने तेल र २०० किलो नुन चिङ्गाड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
चिंगाड गाउँपालिकामा दिइएको सहयोगमध्ये तेल र नुन भने तरुण दल सुर्खेतका अध्यक्ष विष्ट र महाधिवेशन प्रतिनिधि डोरप्रसाद शर्माको तर्फबाट दिइएको हो ।
यही परिमाणमा अरु ८ वटा स्थानीय तहमा पनि सहयोग गरिने तरुण दल सुर्खेतका अध्यक्ष बिष्टले जानकारी दिए ।