शुक्रबार, बैशाख २१, २०८१

युवा व्यवसायी देवकोटाद्धारा विपन्नलाई सहयोग

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०७७


सुर्खेत । युवा व्यवसायी राज देवकोटाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
वीरेन्द्रगर नगरपालिकाकामा डेरा गरि बस्दै आएका विभिन्न जिल्लाका मजदुरलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । युवा समाजसेवी एवं होटेल व्यवसायी राज देवकोटाले आफ्नो व्यक्तिगत पहलमा चार जिल्लाका ११ परिवारका ३२ जनालाई राहत वितरण गरेका हुन् ।
वीरेन्द्रनगरमा बसी साना व्यवसाय र दैनिक मजदुरी गरि घर खर्च चलाउँदै आएका परिवारमा खाद्यान्न अभाव भएपछी उनले चामल, दाल, तेल, मसला, तरकारी सहयोग गरेका हुन् । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेशा, व्यवसाय नभएका ज्यालादारी काम गर्नेको परिवारमा खर्च चलाउनु मुस्किल भएपछी समाजसेवी देवकोटाले सहयोग गरेका हुन् ।
नगरपालिकाको देउती बज्यै, खजुरा, वुद्दपथ र तातापानीमा डेरामा र आफ्नै घरमा बस्ने विपन्न परिवारलाई तीन क्वीन्टल चामल, परिवार संख्याका आधारमा प्रती परिवार ३(४ केजी तरकारी, ५ परिवारलाई तेल र मसला गरि १८ हजार ७ सयको खाद्यान्न सहयोग गरिएको देवकोटाले जानकारी दिए । साथै उनले नगरपालिकामा बसेर पढ्ने विद्यार्थी, ज्येष्ठ नागरिक, समाजसेवामा खटिरहने व्यक्ति, सुरक्षाकर्मीलगायतलाई ११ हजारको सेनिटाइजर पनि वितरण गरेको बताए । ’धेरैलाई सेनिटाइजरको बारेमा थाहा पनि थिएन,’ उनले भने, ’थाहा पाएर पनि किन्न नसक्नेलाई र अहोरात्र समाजसेवामा खट्नेलाई पनि सेनिटाइजर दिएँ ।’
देवकोटाले खाद्यान्न वितरण गरेका परिवारलाई नगरपालिकाले पनि राहत वितरण गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको खाद्यान्नले पनि नपुगेकालाई आफुले सहयोग गरि सरकारलाई सघाएको बताए । राहत लिएका पीडितहरुले संकटको घडीमा अफुलाई सघाएको भन्दै खुसी व्यक्त गरे । लकडाउनले गर्दा काम र सानातिना व्यापार गर्नेहरुले आम्दानीको स्रोत नै बन्द भएको अवस्थामा सहयोग गरेकोमा समाजसेवी देवकोटालाई धन्यवाद पनि दिए ।
अछाम निवासी देवकोटा लामो समयदेखि वीरेन्द्रनगरमा रहि विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन् ।