आइतवार, मंसिर ३०, २०८१

कोरोना विरुद्धको लडाईमा चिकित्सले उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन

  
कर्णाली टाइम्स शनिबार, बैशाख २७, २०७७

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना विरुद्धको लडाईमा उच्च मनोवलका साथ अगाडी बढ्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् । शुक्रबार कर्णाली प्रदेश अस्पत्ताल सुर्खेतमा पुगेर मुख्यमन्त्री शाहीले चिकित्सकहरुसंग अन्तरक्रिया गर्दै कोरोना विरुद्धको लडाई जित्न चिकित्सकहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।
प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत आम नागरिकको उच्च सावधानी सहितको भुमिकाले कर्णाली प्रदेशमा कोरोना भाईरसका विरुद्धको लडाई जीत हाँसिल गरिरहेको बताउदै मुख्यमन्त्री शाहीले अबको चुनौतिलाई सामना गर्न स्वास्थ्यकर्मीहरुको भुमिका निर्णायक हुने बताए ।
‘सशस्त्र युद्धको अग्रमोर्चामा सिपाहीको जस्तो भुमिका कोरोना विरुद्धको लडाईमा तपाईहरुको छ ।’ मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई भने, ‘तपाईहरु उच्च मनोबलका साथ आफ्नो भुमिका पुरा गर्नुस ।’
कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँ गाउँमा पठाउने निर्णय गरेको वताउदै मुख्यमन्त्री शाहीले हरेक वडा वडामा पुगेर जनचेतना निर्माण, कोरोना परिक्षण लगायतको काम गर्न निर्देशन दिए ।
मुख्यमन्त्री शाहीले कोरोना परिक्षणलाई व्यापक बनाउनुपर्ने बताउदै लकडाउन पछि फरक फरक ठाउवाट भित्रिएका नागरिकहरुको प्रतिनिधित्व हुने गरि स्वाव संकलन गरि कोरोना परिक्षणलाई तिव्र बनाउन सुझाव दिए ।
प्रदेश प्रवेश गर्ने नाकाहरुमा अझै पनि लकडाउनलाई कडाई गर्नुपर्ने र प्रदेश भित्र परिक्षण पश्चात कोरोना देखिएको क्षेत्रलाई सील गर्ने तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउन सकिने धारणा राखे ।
चिकित्सकहरुले राखेका जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुको लागि प्रदेश सरकार गम्भीर रहेको जनाए । स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले निराश हुन नदिने भन्दै स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको जानकारी दिए ।