सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको घण्टाघर पार्कसँग जोडिएको जग्गामा व्यक्तिको नाममा स्थापित प्रतिष्ठानको पार्क निर्माणका लागि कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले पार्क निर्माणका लागि स्वीकृति दिएपछि चौतर्फि विरोध भएको छ । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा ‘क्याप्टेन दिनेश प्रतिष्ठान’ का नाममा पार्क निर्माण गर्न थालिएको छ ।
डोल्पा स्थायी भर भएका विमानचालक दिनेश न्यौपानेको २०७३ फागुनमा कालिकोटमा भएको हवाई दुर्घटनामा मृत्यु भएको थियो । उनको स्मृतिमा परिवारले प्रतिष्ठान स्थापना गरेको हो ।
नगरपालिकाले कानुनविपरीत संरचना निर्माणको स्वीकृति दिएको भन्दै स्थानीयले तत्काल काम रोक्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । यस्तै उद्योग वाणिज्य संघ सुर्खेतले पनि सोमबार महासचिव लक्ष्मण कँडेलको हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै पर्याप्त सडकको अभाव तथा सार्वजनिक पार्किङको अभाव झेल्दै आएको नगरपालिकाले सार्वजनिक जग्गा समेत ओगटेर पार्क बनाउने काम गुरुयोजना र आम नगरबासीको भावना विपरित भएकोले उक्त पार्क निार्मण कार्य तत्काल रोकी वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा समेत उजुरी हालेका छन् । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले नगरपालिका र डिभिजन वन कार्यालयसँग यसबारे स्पष्टीकरण मागिएको बताए ।
उक्त जग्गामा अहिले डिभिजन वन कार्यालयसँग सम्झौता भई काम भइरहेको छ । प्रतिष्ठानलाई संघीय सरकारले ३० लाख र प्रदेशको वन तथा वातावरण मन्त्रालयले ३० लाख रुपैयाँ दिएको छ ।
नगर विकासको स्वामित्वमा रहेको उक्त जग्गा हकभोगका लागि निश्चित प्रक्रिया पूरा गरेर बोर्ड (सञ्चालक समिति) बाट निर्णय गनेुपर्ने भएपनि नगरप्रमुख देवकुमार सुवेदी पारिवारिक उपचारका सिलसिलामा विदेशमा रहेको अवसरमा उपप्रमुख ढकाल कार्यवाहक प्रमुख भएको फाइदा उठाएको स्थानीयको आरोप छ ।
अधिवक्तासमेत रहेका सुर्खेत उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष नारायण कोइराला नगरपालिकाको कार्यवाहकको जिम्मेवारी दिइएको भए पनि समितिको कार्यकारी अधिकार उपप्रमुखमा नहुने बताउँछन् । यति ठूलो विषयमा सामान्य छलफलबाट निर्णय गरेर स्वीकृति प्रदान गर्नु गलत भएको उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले घण्टाघर पार्क वीरेन्द्रनगर नगरपालिकालाई प्रदान गरिएको र वरपरको जग्गा पनि प्रयोग गर्न पाइने भएकाले यस्तो स्वीकृति दिइएको बताए । प्रतिष्ठानले संघ र प्रदेश सरकारबाट रकम पाई निर्माणको अनुमति मागेकाले दिइएको उनको भनाइ छ ।
कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सहादत प्राप्त गरेका चार जनाको परिवारले प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकासँग उनीहरूको सम्मान र स्मृतिका लागि पार्क निर्माण गरिदिन माग गरिरहेका छन् । सहिद यामबहादुर बीसीका तर्फबाट उनकी बहिनी भगवती बीसीले एक वर्षअघि नै पार्क बनाइदिन वा घण्टाघर आसपास क्षेत्रमा जग्गा उपलब्ध गराउन माग गरे पनि सुनुवाइ नभएको बताइन् । उनका अनुसार सहिद यामबहादुर बीसी स्मृति प्रतिष्ठानका नामबाट नगरपालिकामा निवेदन दिइएको थियो । ‘नगरपालिकाले पहिले दिएको निवेदन हरायो भनेपछि दुई–तीन महिनाअघि फेरि निवेदन दिएका थियौं,’ उनले भनिन्, ‘तर हाम्रो मागको कुनै सुनुवाइ भएन, बरु अहिले आएर पहुँच र पावरको भरमा अरूले नै जग्गा र पैसा पाएको सुन्यौं ।’
पारिवारिक उपचारका सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका नगरप्रमुख सुवेदीले भने सुर्खेत उपत्यकाको स्वीकृत गुरुयोजनाविपरीत कुनै व्यक्ति वा संस्थाले जहाँतहीँ संरचना बनाउन नपाउने बताएका छन् । नगर विकास समितिको निर्णयबिनै संरचना बनाउनसमेत नहुने उनको भनाइ छ ।
कर्णाली टाइम्स
सोमवार, जेष्ठ १९, २०७७