शनिबार, साउन १२, २०८१

कर्णालीका दुई सांसदलाई एक हप्तासम्म संसद प्रवेशमा रोक

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १९, २०७७

सुर्खेत । कर्णाली प्रदेश सभाले दुई जना सांसदलाई संसदमा प्रवेश गर्न रोक लगाएको छ।

दैलेखबाट प्रतिनिधित्व गर्ने सांसदद्वय अमर थापा र सुशील थापालाई सोमबारदेखि एक हप्तासम्म संसद प्रवेशमा रोक लगाइएको हो।

कोरोनाभाइरस फैलिएको आफ्नो निर्वाचन क्षेत्रमा गएको भन्दै प्रदेश सभाले उनीहरूलाई रोक लगाएको हो।

कोरोनाभाइरस संक्रमण फैलिएको जिल्लामा गएर आएको भन्दै आफूहरूलाई संसद प्रवेशमा रोक लगाइएको प्रदेश सभा सदस्य सुशील थापाले बताए।

उनले आफूहरू उच्च निकायसँग समन्वय गर्न गएको बताए।

‘हामी हाम्रो निर्वाचन क्षेत्रको अवस्थाबारे बुझ्न गएका थियौं,’ उनले भने, ‘त्यहाँ गएर हामीले सुरक्षा निकाय, स्वास्थ्य निकाय र स्थानीय तहका जनप्रतिनिधिसँग बसेर कोरोनाभाइरस रोकथाम तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेका हौं। क्वारेन्टिनमा समेत नगएका हामीलाई संसद जानै रोक लगाइएको छ।’

उनीहरू दुवै जना आइतबार बेलुका दैलेखबाट सुर्खेत फर्किएका हुन्।

निर्वाचन क्षेत्रमा गएर आफूले ५० शैय्याको आइसोलेसन कक्ष तयार पार्ने निर्णय गरेर फर्किएको सांसद थापाले बताए।

‘मेरो निर्वाचन क्षेत्रमा गएर विभिन्न निकाय तथा जनप्रतिनिधिसँग छलफल गरेर ५० बेडको आइसोलेसन कक्ष तयार पार्ने निर्णय गरियो, बाँकी आवश्यक रकम संसद विकास कोषबाट आफूलाई प्राप्त हुने रकमबाट सहयोग गर्ने पनि निर्णय भएको छ,’ उनले भने।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले भने आचारसंहिता अनुरूप सांसदलाई नआउन आग्रह मात्र गरिएको बताएका छन्।

कोही पनि बाहिर नजाने र गएमा पिसिआर परीक्षण गरेर मात्र संसद्मा आउने भन्ने आचारसंहिता अनुसार सांसदलाई नआउन आग्रह गरिएको उनले बताए।

‘संसदमा सहभागी हुने सांसद, मन्त्री लगायत कोही पनि यो समयमा वीरेन्द्रनगर बाहिर नजाने र गएमा पिसिआर परीक्षण गराएर मात्र सदनमा आउने भन्ने निर्णय भएको थियो,’ उनले भने, ‘हामीले सबैको अधिवेशन सुरू हुनुअघि नै पिसिआर गरेका थियौं, उहाँहरू कोरोना संक्रमण फैलिएको जिल्लामा गएर आउनुभयो। यो जोखिमपूर्ण भएकाले हामीले पिसिआर गरेर मात्र आउने भनेका हौं।’