बिहीबार, फागुन १०, २०८०

कर्णाली प्रदेशको आगामी अर्थिक वर्षको नीति तथा कार्यक्रम माथि समिक्षा

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २७, २०७७

सुर्खेत । कर्णाली प्रदेशको आगामी अर्थिक वर्षको नीति तथा कार्यक्रम माथि समिक्षा गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को माहामारी कर्णाली प्रदेशमा उच्च विन्दुमा पुगेको अवस्थामा पनि सोमबार कर्णाली प्रदेशको आ.व २०७७।०७८ को नीति तथा कार्यक्रममा भर्चुअल विधिबाट समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा तथा सामाजिक शास्त्र मानविकी संकाय सुर्खेतको आयोजना र सुर्खेत स्थित नागरिक समाज संस्थाकोे समन्वयमा संचालन भएको उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मंत्री प्रकाश ज्वालाले यस वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त विशेषता जानकारी दिएका थिए । कोभिड–१९को रोकथाम र व्यवस्थापनका लागि नीति तथा कार्यक्रमले जोड दिएको, स्वास्थ्य, युवा रोजगार, कृषि, शिक्षा र उद्यमशिलता नीति तथा कार्यक्रमको प्रमुख पक्ष भएको मन्त्री ज्वालाले बताए । यसैगरी कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले युवा उद्यमशिलतालाई जोड दिएर युवाहरुलाई रोजगारी केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए । समिक्षा कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन डा.अमृत गैरे, सह–प्राध्यापक अर्थशास्त्र विभागका चन्द्रकान्त झा, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष टेकेन्द्र बस्नेतले नीति तथा कार्यक्रमको बारेमा टिप्पणी गरेका थिए । कोरोना भाइरसलाई कर्णाली प्रदेशमा रोकथाम र व्यवस्थापन गर्नको लागि नीति तथा कार्यक्रममा आएका कुराहरुलाई बजेटमा समेट्नुपर्ने , कर्णाली प्रदेशको उच्च मा.वि तहमा विज्ञान विषयको पढाइलाई जोड दिनुपर्ने, युवाहरुलाई अनुदान र ऋण मात्र होइन घुम्ती कोषको रुपमा बजेट व्यवस्था गर्नुपर्ने, पर्यटनलाई वृद्धि गर्न माउनटेनीङ शिक्षा, माइनिङ स्टोनको व्यवस्थापन, अनुसन्धानको विषयलाई बजेटमा पनि व्यवहारिक रुपले ल्याउनु पर्ने कुरालाई जोड दिएका थिए ।
यसैगरी नागरिक समाज च्याम्पियन पिताम्बर ढकालले नीति तथा कार्यक्रम सन्तोषजनक नभएको, पहिलेको नीति तथा कार्यक्रममा भएका कुराहरुलाई निरन्तरता नदिएको र कार्यान्वयनलाई जोड नदिएको हुदा यस पटकको नीति तथा कार्यक्रममा गरिने बजेटलाई कार्यान्वयन गर्न सकिने कुरामा बढि जोड दिनुपर्ने र विकास बजेटको खर्च दर बढाउने गरी ल्याउनुपर्ने सुझाव दिएका थिए । नागरिक समाजका सदस्य खिम रेग्मीले नीति तथा कार्यक्रममा उल्लेख भएको नागरिक मञ्चलाई प्रभावकारी बनाउन, मुख्यमन्त्री युवा उद्यमी अभियानका लागि युवाको सही तथ्याङ्क लिन नागरिक समाज र नीजि क्षेत्रलाई बढि संलग्न गराउन प्रादेशिक सुशासन केन्द बनाउनका लागि व्यवहारिक बजेटको व्यवस्था गर्नुपर्ने बताएका थिए ।
यस कार्यक्रमले प्रदेशमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा आम नागरिकको चासो हुने,नीति तथा कार्यक्रम बनाउनु भन्दा पहिले नागरिक समाज बुद्धिजिविहरुको पनि सल्लाह सुझाव संकलन गर्नुपर्ने र विषय विज्ञहरुलाई पनि राखेर बनाएमा थप प्रभावकारी हुने र व्यवहारिक हुने कुरामा सहभागीहरुको सुझाव रहेको थियो ।
भर्चुअल कार्यक्रममा शिक्षा तथा सामाजिक शास्त्र मावविकी संकायका क्याम्पस प्रमुख तेज विक्रम बस्नेत, मानविकि संकायका शान्ती तथा द्धन्द्ध विभागका ललित शाही, कानुन संकायका अर्जुन ऐडिको समन्वयमा समिक्षा कार्यक्तम सम्पन्न भएको थियो । कार्यक्रममा विषय विज्ञ, प्राध्यापक, नागरिक समाज, पत्रकार लगायत ७१ जनाको सहभागिता रहेको थियो ।