शुक्रबार, फागुन ११, २०८०

समुदायस्तरमै फैलियो कर्णालीमा कोरोना

  
जगतदल जनाला विक बिहीबार, असार ११, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना समुदायस्तरमा फैलिन थालेको छ ।
केही दिनअघि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा उपचार गराइरहेका दैलेखका तीन जनामा कोरोना संक्रमण देखियो । उनीहरू भारतबाट फर्किएका नभई समुदायमै बसिरहेका व्यक्ति थिए ।

अन्य रोगको उपचार गर्न आएकालाई कोरोना संक्रमण देखिएपछि उनीहरूको उपचारमा खटिएका ५० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आयो ।
असार १० गते चौकुने गाउँपालिकाका तीन जना महिलाहरुलाई कोरोना संक्रमणको पुष्टि भयो । उनीहरुलाई पनि समुदायस्तरबाटै संक्रमण भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।

संक्रमण भएका उनीहरु न भारत गएका थिए नत संक्रमित ठाउँबाट गाउँ फर्किएका थिए ।
‘भारतबाट आएका नागरिकहरुलाई व्यवस्थित गर्न नसक्दा समुदायस्तरमा कोरोना फैलिएको हो,’ डाक्टर खड्काले भने, १४ दिनसम्म क्वारेन्टिनमा बसेर कुनै चेकजाँच नगरेर घर जाने गरेका कारण उनीहरुको सम्पर्कमा आएका नागरिकलाई कोरोना पुष्टि भएको छ ।’

अस्पतालमा आउने अन्य बिरामीमा पनि कोरोना संक्रमण देखिन थालेपछि उपचारमा समेत समस्या आएको डाक्टर खड्काले बताए ।
उसो त समुदायस्तरबाटै सुर्खेतमा बसेर दमको उपचार गर्दै आएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष घर फर्किएको दुई दिनमैं कोरोनाका कारण मृत्यु भयो ।
दिनहुँ समुदायस्तरबाट कोरोना पोजेटिभ व्यक्तिहरुको संख्या बढिरहेका यी घटनाक्रमले कर्णालीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरसम्म फैलिएको पुष्टि हुन्छ ।
पछिल्लो समय भारत अन्य प्रदेश तथा जिल्लाबाट कर्णालीमा झन्डै ४७ हजार बढी नागरिक भित्रिएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कर्णालीमा बुधबारसम्म २७ हजार ८ सय ६० जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ भने १९ हजार ५ सय ९४ जनाको पीसीआरबाट परीक्षण गरिएको छ ।

आरडीटीको विश्वसनीयतामा प्रश्न उठिरहेका बेला कोरोना भए नभएको पुष्टि गर्ने विस्वासिलो मानिएको एकमात्र विधि पीसीआर परीक्षणको दायरा निकै कम छ । नमुना परीक्षणको दायरा बढाउन प्रयोग गरिने आरडीटी टेस्टको नतिजाले आम नागरिकलाई अलमलमा पारेको छ ।
जसले गर्दा विदेश र संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबै नागरिकको कोरोना परीक्षण हुन सकेको छैन ।
कर्णालीमा अधिकांश भारतबाट आएर क्वारेन्टाइन बसेका व्यक्तिहरूमा कोरोना संक्रमण देखिने गरे पनि समुदायस्तरमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार समुदायमा काम गर्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बित्तिय संस्थामा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी करिब ३० जनालाई कोरोना पुष्टि भएको छ ।
केही दिन पहिलेसम्म क्वारेन्टाइनमा मात्रै सीमित कोरोना संक्रमण समुदायमा फैलिन थालेको छ । अव्यवस्थित क्वारेन्टाइन, पोजेटिभ रिपोर्ट देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणविनै घर पठाइनुजस्ता कारणले संक्रमण समुदायमा गएको स्वास्थ्यकर्मीहरूले भनाई छ ।

कर्णालीमा अहिलेसम्म आशंकित बाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन ।
पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका दैलेखको नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना देखिएको थियो । घर गएको ४–५ दिनपछि मात्रै उनीहरूमा संक्रमण पुष्टि भएको थियो ।
प्रदेशमा बुधवारसम्म एक हजार तीन सय ३५ जनालाई संक्रमण देखिएको छ । जसमध्ये २२ जना अन्य प्रदेशका नागरिक रहेका छन् । संक्रमण पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको छ भने पाँच सय ६८ जना संक्रमणमुक्त भएका छन् ।