मंगलबार, बैशाख १८, २०८१

किसानको पीडामा डाक्टर केसीले लगाए मलम (भिडियाे रिपाेर्टसहित)

डा. नवराज केसीले कोरोना प्रोत्साहन भत्ताबापत पाएको २ लाख रुपैयाँ किसानको ऋण तिरिदिए

  
जगतदल जनाला विक बिहीबार, साउन १, २०७७
भैंसी पालक किसान कृष्ण खत्रीसँग डा. नवराज केसी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का कृष्ण खत्रीको पुख्र्यौली घर दैलेख गमौडी हो । श्रीमतीसहित करिब २० वर्षअघि कामको सिलसिलामा वीरेन्द्रनगर आएका थिए । मजदुरी गरेर जेनतेन जीवन धानिरहेका थिए । दुई सन्तानलाई पालेर बसेका कृष्णको जीवनमा सुर्खेत झरेको केही वर्षमै ठूलो बज्रपात भयो । मोटरसाइकलको ठक्करबाट कृष्णको खुट्टा छियाछिया भयो । सम्पत्तिका नाममा कृष्णको परिवारसँग एउटा भैंसीमात्र थियो । मोटरसाइकल चालक फरार भएपछि ऋण खोजेर भए पनि उपचार गरे । त्यतिबेलादेखि उनलाई ऋणले थिच्दै लग्यो ।
सडकमा पाल लगाएर अप्ठ्यारो परिस्थितिमा दैनिकी गुजारिइरहेका कृष्णलाई जन माविका तत्कालीन प्रधानाध्यापक नेत्रबहादुर खत्रीले घरमा ल्याएर राखे । केही समयपछि बारी र पुरानो घरमा बस्न दिएर छिमेकमा राखे ।

भैंसी पालक किसान कृष्ण खत्रीसँग डा. नवराज केसी ।
भैंसी पालक किसान कृष्ण खत्री श्रीमतीसँग

कृष्णका बालबच्चा हुर्र्किँदै गए । खानलाई बारीबाट केही उत्पादन हुन्थ्यो । तर साहुसँग लिएको ४ लाख रुपैयाँ ऋणको ब्याज भने बढिरहेको थियो । त्यही समयमा ऋण काढेर ल्याएका २ वटा भैंसी मरे । तैपनि विभिन्न सहकारी र व्यक्तिबाट ऋण लिएर तिर्दैै गए । कोरोना प्रकोप र लकडाउन उनको जीवनमा थप पीडा बनेर आयो । उनी ऋण तिर्नै नसक्ने अवस्थामा पुगे । तर, सडकबाट छिमेकमा ल्याएर राखेका पूर्वप्रधानाध्यापक स्वर्गीय नेत्रबहादुरका छोरा डा. नवराज केसीको जीवनमा भगवान बनेर प्रकट भए । डा. केसीले २ लाख रुपैयाँ ऋण चुक्ता गरिदिएपछि कृष्णले लामो स्वास फेरेका छन् । ‘बुवा (नेत्रबहादुर खत्री) ले उतिबेला उद्दार गरेर नयाँ जीवन दिनुभयो, अहिले उहाँ छोरा डाक्टरसापले ऋणबाट मुक्ति दिनुभएको छ,’ कृष्णले भने, ‘हाम्रो लागि त उहाँहरु भगवानसरह हुनुहुन्छ ।’

भै‌सीकाे मल साेहर्दै भैंसी कृष्ण खत्री

यसरी तिरियो ऋण
डा. केसी अध्ययनको सिलसिलामा देशबाहिर थिए । ८ वर्षअघि उनका बुवा नेत्रबहादुर खत्रीको निधन भयो । उनी सुर्खेत फर्किएर चिकित्सक पेशामा लागे । तर घरपरिवार, छरछिमेकमा पर्याप्त समय मिल्ने कुरै भएन । त्यसैले बुवाको सहयोगमा छिमेकी बनेका कृष्णलाई लागेको ऋणबारे पनि थाहा थिएन । एक दिन डा. केसी छिमेकमा घुम्दै जाँदा कृष्णसँग कुराकानी भयो । उनले आफुमाथि लागेको ऋणबारे बेलिबिस्तार लगाए । ‘आफ्नै छिमेकी ऋणमा डुबेको र ऋण तिर्न भैंसीसमेत बेचेको थाहा पाएपछि मैले मन थाम्न सकिनँ,’ डा. केसीले भने, ‘त्यसपछि मैले उनले बैंकमा तिर्नुपर्ने ऋण तिरिदिएँ ।’

डा. नवराज केसीले ऋण तिरिदिएपछि प्रफुल्लित मुद्रामा कृष्ण खत्री

डा. केसीले कोरोना प्रकोपको बेला खटिएबापत चिकित्सकलाई दिइने प्रोत्साहन भत्ताको रकम कृष्णलाई दिएका हुन् । गरिब र बिपन्न समुदायका व्यक्तिहरु ऋणले माथि उठ्नै नसक्ने गरी थिचिए पनि सरकार र बैंकले पीडा सुन्न नसकेको उनले बताए । ‘राज्यले किसानको लागि जति लगानी गरे पनि वास्तविक किसानले राहत पाउन सकेका छैनन्,’ उनले भने ।

कर्णाली प्रदेशका वरिष्ठ बालरोग विशेषज्ञ रहेका डा. केसी आफ्नो पेशाका साथै विभिन्न सामाजिक काममा पनि संलग्न छन् । उनले गरिब तथा बिपन्न बालबालिकालाई निःशुल्क उपचार गर्नेसमेत गरिरहेका छन् ।

भिडियो रिपोर्ट !

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]