बिहीबार, बैशाख २०, २०८१

जुम्ल्याहा छोरी जन्माएकी संगीताको रोदन : भोकले एक छोरी खोस्यो, अर्कीको पनि भर छैन

  
जगतदल जनाला विक शनिबार, भदौ १३, २०७७
इत्रामखोला छेउमा रहेको घरमा छोरीलाई काखमा राखेकी संगीता नेपाली

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–८ को इत्रामखोला छेउमा झुपडीवाला सानो बस्ती छ । बस्तीको बीचमा करिब ५ मिटर जग्गामा माटोको गारो भएको सानो घर छ । सोही घरमा बस्ने २३ वर्षीया संगीता नेपाली तीन साताअघि सुत्केरी भइन् । जुम्ल्याहा छोरी जन्मिए ।

ज्याला मजदुरी गरेर नै किन नहोस्, जिन्दगी गुजारा गरिरहेकी संगीताले एकैपटक दुई सन्तानलाई जन्माउँदा घरमा खुसी छायो । तर, त्यो खुसी धेरै दिन टिकेन । पोषिलो खानेकुरा त टाढाको कुरा साँझ बिहानको हातमुख जोर्न मुस्किल हुँदा जन्मेको २० दिनमै एउटा छोरीको मृत्यु भयो । ‘माछा–मासु त कहाँबाट खान पाउनु, गुन्द्रुकको झोल पनि खान सकिएको छैन,’ उनले भनिन्, ‘अब त यही छोरीलाई पनि बचाउन गाह्रो भइसक्यो ।’

संगीताको घरमा श्रीमान्, सासु–ससुरा र एकजना देवरसहित ५ जनाको जहान छ । सबैको लालनपालनको जिम्मा श्रीमान् विजयको काँधमा छ । लकडाउनले ज्यालामजदुरी खोसेपछि सुत्केरी श्रीमती र शिशुलाई जोगाउनै हम्मे भएको विजयले बताए । ‘लकडाउन सुरु भएपछि नगरपालिकाले एक प्याक चामल दिएको थियो, त्यत्ति नै हो,’ उनले भने, ‘घरमा अहिले पनि खानलाई चामल छैन, हामीलाई भन्दा पनि सुत्केरीलाई पेटभरि खुवाउन नपाउँदा मन दुख्ने गर्छ ।’

संगीतालाई डाक्टरले कात्तिक १५ गते सुत्केरी हुने म्याद दिएका थिए । तर, उनी तीन महिनाअघि सुत्केरी भइन् । समय अगावै जन्मेको कारण हुनुपर्छ, दुईटै छोरी कम तौलका जन्मिए । त्यही पनि पोषणको अवस्था मजबुत भएको भए दुईटै छोरी हुर्किने थिए । ‘पहिलोपटक नै दुईटा छोरी जन्मिएपछि खुसी भएका थियौं, तर भाग्यले खोसेर लग्यो,’ श्रीमान् विजयले भने, ‘बचाउन सकिएन ।’

सुत्केरी भएको लामो समयसम्म दुईटै शिशुलाई अस्पतालमा राखियो । व्याजमा लिएको ७० हजार रुपैयाँ पनि सकियो । धेरै धान्न नसकिएपछि परिवारले भदौ ११ गते (बिहीबार) संगीता र दुईटै शिशुलाई घरमा ल्याए । त्यसको भोलिपल्ट शुक्रबार एउटा छोरीको मृत्यु भयो । ‘डाक्टरले त अझै एक महिनासम्म अस्पतालमै राख्नुपर्छ भनेका थिए, तर राख्न सकिएन,’ संगीताले भनिन्, ‘घरमा ल्याएको भोलिपल्टै छोरी गुमाउनु प¥यो, यो छोरीलाई पनि कसरी बचाउने भन्ने चिन्ताले सताएको छ ।’

संगीताको इत्रामखोला छेउमा रहेको घर

संगीताले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको लागि गुहार गरेकी छिन् । तर, सरकारी निकायसम्म उनको हारगुहार पुगेको छैन । नेपालमा कुपोषण वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जटिलताको कारण प्रतिहजार जीवित जन्ममा ४० जनाको मृत्यु हुने गरेको छ । संगीताले आफ्नी छोरी गुमाए झैं कर्णालीमा पनि यस्ता नवजात शिशुहरुको मृत्यु हुने गरेको छ । तर, प्रदेश राजधानीमै शिशु गुमाउन विवश संगीताको रोदन कसले सुनिदेला ?