आइतवार, बैशाख २३, २०८१

कर्णालीमा कोरोना कहर : अस्पतालदेखि अदालत सिल हुँदै खुल्दै

  
कर्णाली टाइम्स सोमवार, भदौ २२, २०७७

वीरेन्द्रनगर । जेठ अन्तिम साता पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमणको दायरा फैलिँदै गएको छ । सुरुमा क्वारेन्टाइनमा बसेकाहरुमा मात्रै संक्रमण देखिए पनि क्वारेन्टाइन तथा आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हुँदै पछिल्लो समय सार्वजनिक सेवा कार्यालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बुधबार सुर्खेत जिल्ला अदालतमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण फेला पर्‍यो । अदालतले सूचना जारी गर्दै चार दिनसम्म सेवा प्रवाह बन्द गर्‍यो । अन्य कर्मचारीको आरटी–पीसीआर गर्दा सबैको नेगेटिभ आएपछि आइतबारदेखि अदालतले आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिएको छ । ४ दिनसम्म अदालतको सेवा ठप्प भएपछि सेवाग्राही अदालत पुगेर फर्किनुपर्‍यो ।

यस्तै, शुक्रबार राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि बैंंकले पनि एक साताका लागि सेवा बन्द गरेको छ । सबैभन्दा बढी आर्थिक कारोबार हुने बैंक एक साताका लागि बन्द भएपछि सेवाग्राही चिन्तित छन् । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका देवीलाल पौडेलले बैंक बन्द हुँदा आफ्नो काम पाँच–सात दिन पछाडि धकेलिएको बताए । ‘बैंक जाउँला भनेर बसेँ, बन्द होला भन्ने थाहै भएन,’ उनले भने, ‘कोरोनाले सबै क्षेत्र अस्तव्यस्त बनायो ।’

प्रदेश अस्पतालमा पहिलोपटक असार १२ गते दुई जना चिकित्सकमा संक्रमण देखिएको थियो । संक्रमण देखिनासाथ अस्पतालले आकस्मिकबाहेक अन्य सेवाहरु एक हप्ताका लागि बन्द गर्‍यो । गत असारमै तीनजना डाक्टरमा कोरोना पुष्टि भएको थियो । यसअघि संक्रमित चिकित्सकहरु निको भएर काममा फर्किसकेका छन् । अघिल्लो मंगलबार र बुधबार पनि ६ जना चिकित्सकलाई कोरोना देखिएपछि प्रदेश अस्पतालले एक हप्ताका लागि आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ । कोरोना संक्रमितहरुको उपचार हुन थालेदेखि नै अस्पताल जान डराउने सेवाग्राही चिकित्सकलाई कोरोना देखिएपछि सेवा लिनका लागि अस्पताल जान डराउने गरेको कान्तिपुरमा चाँदनी कठायतले समाचार लेखेकी छन् ।प्रदेश अस्पतालका कोरोना फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार हाल १० जना चिकित्सक र ७ जना अन्य गरी १७ जना स्वास्थ्यकर्मी प्रदेश अस्पतालको आइसोलेसनमा छन् । हालसम्म कर्णाली प्रदेश अस्पतालका १४ जना डाक्टर, ६ नर्स, ४ जना प्यारामेडिक र १५ जना अन्य गरी ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको फोकल पर्सन न्यौपानले जानकारी दिए ।

प्रदेश राजधानीमा हरेक दिन विभिन्न सार्वजनिक सेवा कार्यालयका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुँदा स्वास्थ्य, सुरक्षा, वित्तीय र अन्य सेवा लिने सेवाग्राहीसमेत मारमा परेका छन् । वीरेन्द्रनगरमा हरेक दिन कोरोना विभिन्न क्लस्टरका व्यक्तिहरुमा संक्रमण बढ्दै जाँदा सार्वजनिक सेवा नै प्रभावित भएको हुन थालेको छ ।

मन्त्रालय पनि बन्द

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत व्यक्तिहरुलाई पनि कोरोना संक्रमण देखिएपछि मन्त्रालयले अत्यावश्यक सेवा बन्द गरेको छ । मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायाका अनुसार ५ दिन अघि एकजना कार्यालय सहयोगी, एक जना सवारी चालक र चारजना सुरक्षाकर्मीमा संक्रमण देखिएपछि सेवा प्रवाह रोकिएको हो । ‘अहिले सबै होम क्वारेन्टाइनमा छौँ,’ उनले भने, ‘सेवा नै त रोकिएको छैन, आवश्यक परेको खण्डमा हामी मन्त्रालय गइरहेका छौँ, आाइतबार पनि उनीहरुका नजिकका व्यक्तिहरुको स्वाब संकलन भएको छ ।’

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भेरीगंगा नगरपालिकाले वडा नम्बर ६ र ९ मा सिल गरेको छ । आइतबार उक्त वडाका दुई जनामा कोरोना संक्रमण देखिएपछि आइतबार रातिदेखि लागू हुने गरी भदौ २८ गते राति १२ बजेसम्म सिल गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्कका अनुसार जहरे बजार र झिङ्नी बजारमा अत्यावश्यक सेवा बाहेक आवतजावत गर्न नपाइने गरी बैंक तथा वित्तीय संस्थासमेत बन्द गरिएको हो ।

एकैदिन ४२ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा सुर्खेतका ४२ जनामा कोरोना संक्रमण देखिएको छ, जसमा प्रदेश राजधानी वीरेन्द्रनगरका मात्रै ३२ जना रहेका छन् । चौकुने गाउँपालिकाका ६ जना, चिंगाड गाउँपालिका र भेरीगंगा नगरपालिकाका दुईरदुई जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ४९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार जुम्लाका ५ जना, जाजरकोटका दुई जना, दैलेखका १, रुकुम पश्चिमका एक जनामा कोरोना पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननीधि वाग्लेका अनुसार सुर्खेतमा पुष्टि भएका ४२ जना ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरु हुन् । ‘पहिला संक्रमित भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई संक्रमण देखिएको हो,’ उनले भने, ‘स्थानीय स्तरमै विभिन्न वैंक तथा वित्तीय संस्थामा काम गर्ने, सवारी चालक, सुरक्षाकर्मीलगायतलाई अहिले संक्रमण देखिएको छ ।’

वीरेन्द्रनगरमा मात्रै अहिलेसम्म १३ वडाका २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार वीरेन्द्रनगर नगरपालिकाका ३, ४ र १२ नम्बर वडा उच्च जोखिममा रहेको देखिन्छ । नगरपालिकाको वडा नम्बर १४ र १५ मा अहिलेसम्म संक्रमित फेला परेका छैनन् । जनस्वास्थ्य कार्यालयका प्रमुख वाग्लेले समुदायका विभिन्न क्लस्टर व्यावसायिक क्षेत्र, वैंक तथा वित्तीय संस्था, सञ्चार क्षेत्रका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।