शनिबार, कार्तिक १०, २०८१

सल्यानका ९० बर्षीय कोरोना संक्रमितको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, माघ ९, २०७७


सुर्खेत । सल्यानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शारदा नगरपालिका–३ का ९० बर्षीय कोरोना संक्रमितको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
उनलाई पुष २७ गते खोकी र सास फेर्न कठिनाई भएपछि जिल्ला अस्पताल सल्यानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेसन कम भएको थियो ।
माघ ३ गते स्वाब संकलन गरी कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टी भएको स्वासथ्य सेवा महाशाखाले जनाएको छ । उनी उच्च रक्तचापको बिरामी समेत रहेको महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान र नेपाली सेना सिमखर्क ब्यारेकको समन्वयमा शव व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
उनीसँगै कर्णाली प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ जना पुगेको छ । यसअघि सुर्खेतका १६, दैलेखका ६, डोल्पा, कालिकोट, रुकुम पश्चिमका एक/एक जना, बाँकेका २ र स्याङ्जाका एक जनाको कर्णालीमा मृत्यु भएको छ ।