शनिबार, कार्तिक १०, २०८१

पहिलो चरणमा कर्णालीका साढे ११ हजारलाई कोरोना विरुद्धको खोप लगाईने

  
कर्णाली टाइम्स आइतवार, माघ ११, २०७७


सुर्खेत । भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप  सबै प्रदेशमा पठाउन थालिएको छ । सरकारले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ नामक खोप सातवटै प्रदेशमा पठाउन लागेको हो ।
कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरुद्धको खोप फ्रन्टलाईनमा रहेर काम गर्नेहरुलाई लगाईने भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोनाविरुद्धको खोप लगाउने प्रस्ताव गरिएको छ ।
‘कर्णाली प्रदेशमा आउने कोरोनाको खोप पहिलो चरणमा फ्रन्टलाईनमा खटिएकाहरुलाई लगाउने स्टिमेट तयार पारिएको छ, त्यही अनुसार प्रस्ताव पनि गरएको छ,’ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘त्यसमा चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, सरसफाईकर्मी, स्वास्थ्य स्वयम्सेविका लगायत पर्नुहुन्छ ।’
कर्णाली प्रदेशमा आवश्यक पर्नेजति कोरोनाविरुद्धको खोप राख्न मिल्ने स्टोर रहेको उनले बताए । प्रदेशका सबै जिल्ला र नेपालगञ्जमा रहेको कोल्ड सेन्टरमा यहाँ आवश्यक कोरोना विरुद्धको खोप भण्डारण गर्न मिल्ने डा. खड्काले बताए ।
कर्णाली प्रदेशमा खोप दिनका लागि पूर्वतयारी पनि थालिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार खोप लगाउने काम हुने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।