शनिबार, कार्तिक २४, २०८१

कर्णाली प्रदेशका नयाँ मन्त्रीले आजै सपथ खाँदै

  
कर्णाली टाइम्स आइतवार, बैशाख ५, २०७८

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीमण्डलमा नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मुख्यमन्त्री तथा मनित्रपरिषदको कार्याल्यका अनुसार आजै प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सपथग्रहण गराउनेछन् ।
प्रदेश प्रमुखलाई सपथ ग्रहण गराउनका लागि पत्र पठाउन केही समय लाग्ने र पत्र पुगेपछि आजै प्रमुखले मन्त्रीहरुलाई सपथ खुवाउने सचिवालयले जनाएको छ । सपथ ग्रहणको समय भने निश्चित भईनसकेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शनिबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो मन्त्रीमण्डलमा एमालेको माधव नेपाल समूहका तीनजनालाई मन्त्री बनाएका छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गर्ने सांसद्हरु नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई मन्त्रीमा नियुक्त गरिएको हो ।
बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, थापालाई भौतिक पूर्वाधार मन्त्रालय र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नियुक्त गरिएको हो । हाल कृषि मन्त्रीमा नियुक्त बुढाले यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका थिए ।
शुक्रबारको प्रदेश सभा वैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावमा नेकपा एमालेको माधव नेपाल समूहका बुढा, थापा, शाही र ज्वालाले फ्लोर क्रस गरेका थिए । उनीहरुसँगै फ्लोर क्रस गरेकी देवी ओलीले भने पछि दिईएको समयभित्र आफ्नो मत सच्याएकी थिईन् ।