सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शनिबार नियुक्त भएका तीनजना मन्त्रीहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
शुक्रबार विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गरेको चारजना सांसद्मध्ये तीनजनालाई मन्त्री बनाएका हुन् ।
बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ । सर्वोच्चको फैसलापछि पूर्ववत अवस्थामा फर्किएको एमालेको कर्णाली प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुढाले सोही मन्त्रालयबाट चैत २४ गते राजीनामा दिएका थिए ।
यस्तै अमर बहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त गरिएको छ ।
कुर्मराज शाहीलाई मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि कृषि मन्त्री रहेकी विमला केसीले हाल खाली रहेको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । सामाजिक विकास मन्त्री दल रावलले पनि चैत २४ गते राजीनामा दिएका थिए ।
यस्तै खाली रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिईएको छ । यसअघि अर्थ मन्त्री रहेका प्रकाश ज्वालाले पनि चैत २४ गते नै राजीनामा दिएका थिए ।
कर्णाली टाइम्स
आइतवार, बैशाख ५, २०७८