सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार राजधानीको होटल मेरियटमा लामो कुराकानी भयो।
२०७७ चैत २ गतेपछि दुई जनाबीच कुनै कुराकानी भएको थिएन।
बुधबार दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भयो। कुराकानीका क्रममा माधव नेपालले सुरूआतमा आफूहरूले प्रधानमन्त्रीलाई हटाउने कुनै माग नराखेको र पार्टी अध्यक्षबाट हटाउने कुराकानी नगरेको भन्दै आश्वस्त तुल्याउन खोजे।
कर्णालीमा नेता नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री ओली पार्टीबाटै माधव नेपाललाई हटाउन कस्सिएका थिए। तर माधव नेपालको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीबाट गरिएको ६ महिनाको निलम्बन हटाउन सकिने बताए।
बुधबार दुई नेताबीचको कुराकानी सकारात्मक रूपमा अघि बढ्यो। प्रधानमन्त्री ओलीले नै नेता नेपाललाई मिलेर जानेगरी प्रस्ताव ल्याउन भने।
बिहीबार दिउँसो दुई नेता एक्लाएक्लै भेटका लागि होटल मेरियट पुगे। बधुबार खुसी भएर बाहिर निस्केका नेता माधव नेपाल बिहीबार बिहानै प्रधानमन्त्री ओलीको भाषणले चिढिएका थिए।
बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल अर्को पार्टी खोलेर हिँडे पनि सम्झाइ-बुझाइ गरिरहेको बताएका थिए।
मेरियट पुगेपछि माधव नेपालले प्रधानमन्त्री ओलीलाई जेठ २ गतेको निर्णयमा फर्कन आग्रह गरे।
सर्वोच्च अदालतले नेकपाको एकता खारेजसँगै साविकको एमाले र माओवादी ब्युँतिएपछि माधव नेपाल पक्षले तत्कालीन एमालेको मात्र केन्द्रीय समिति बैठक डाक्न माग गर्दै आएको छ। नेता नेपालले पार्टी एकता अघिको २०७४ जेठ २ गतेको अवस्थामा पार्टी फर्काउन माग गर्दै आएका छन्।
नेता नेपालले प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादल सहितका नेताहरूलाई पार्टीमा थपेर जान सकिने बताए।
‘पार्टीलाई एकताबद्ध बनाऊँ, मिलेर जाऔँ। क-कसलाई थप्नुपर्छ, त्यही ठाउँमा छलफल गरौं। रामबहादुर थापा थपिएर केही फरक पर्दैन। हामी पनि दुई चार जना मान्छे थपिदिऊँ’, नेता नेपालले प्रस्ताव राखे।
नेता नेपालको अर्को प्रस्ताव थियो – पुराना जिल्ला कमिटी र अध्यक्षलाई हटाइएको छ। माधव नेपाललाई महाधिवेशनमा भोट दिएकै भरमा। पार्टी एकता हुँदा पनि अध्यक्ष भएका र महाधिवेशनबाट एमाले अध्यक्ष भएकालाई हटाउन मिल्दैन।
नेता नेपालले दुई दिन मेरियटमा भएको वार्ताको कुराकानी शुक्रबार धनुषा पुगेर कार्यकर्तालाई सुनाएका थिए।
मेरियटमा माधव नेपालले राखेका माग सुनेपछि प्रधानमन्त्री ओली सकारात्मक भएनन्। उनले दुवै प्रस्तावमा ‘हुँदैन’ भन्दै जवाफ फर्काए।
प्रधानमन्त्री ओलीले अहिले नेकपा एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेका छन् भने साविकको केन्द्रीय समितिमा १८ जना पूर्व माओवादीका नेताहरूलाई थप गरेका छन्।
उनले जिल्ला कमिटीहरूलाई समेत हटाएर आफ्ना पक्षका नेताहरू राखेर महाधिवेशन आयोजक कमिटी बनाएका छन्।
प्रधानमन्त्री ओलीले एमालेको कार्यकर्तालाई पार्टी सदस्यता ‘रिन्यू’ गर्न आग्रह गर्दै महाधिवेशनको तयारी समेत अघि बढाएका छन्।
प्रधानमन्त्री ओली पूर्वमाओवादी पक्षको साथले हौसिएका छन्। एमालेमा माओवादीका नेताहरू थपिएपछि पार्टी सदस्यता थप गर्ने र महाधिवेशनमा समेत आफूलाई सजिलो हुने गरी अघि बढ्ने ओलीको तयारी छ।
आफूलाई पार्टी र सरकारबाट निकाल्ने प्रयास भएका बेला साथ दिएका बादललाई चिढ्याउने पक्षमा प्रधानमन्त्री ओली छैनन्।त्यसैले माधव नेपालले केन्द्रीय समिति र जिल्ला कमिटीमा बराबरीको हैसियत खोजेपछि ओली नकारात्मक बनेका हुन्।
दुई नेताबीचको वार्ताको सहजीकरण गरिरहेका वामदेव गौतमले समेत दुई नेताबीच वार्ताको थप पहल कठिन भएको बताएका छन्। #सेतोपाटी
कर्णाली टाइम्स
शुक्रबार, बैशाख १०, २०७८