आइतवार, भदौ २३, २०८१

कर्णाली नदीमा खसेको टिपर निकाल्न कठिनाई

  
कर्णाली टाइम्स बिहीबार, बैशाख २३, २०७८
कर्णाली नदीमा खसेको टिपर । तस्विर स्रोतः जिल्ला प्रहरी कार्यालय दैलेख ।

मंगलबार राति कर्णाली नदीमा खसेको टिपर निकाल्न कठिनाई भएको छ । दाङको लमहीबाट जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर कालिकोट र दैलेखको सिमानामा पर्ने आठविस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट मंगलबार राति १० बजेतिर कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनामा परेको टिपरमा दुई जना रहेका र उनीहरु वेपत्ता भएका आशंका गरिएको छ । तर यसको एकीन गर्न टिपर नदीबाट बाहिर निकाल्नुपर्छ । भौगोलिक विकटताका कारण टिपर बाहिर निकाल्न समस्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
‘हिजो (बुधवार) पानीको बहाव धेरै भएकाले काम गर्न मिलेन, टोचन लगाएका थियौं । त्यो पनि चुँडिसकेको छ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले भने, ‘प्रयास जारी छ, कतिबेला सकिन्छ भन्ने कुरा भन्न सकिँदैन ।’
प्रहरीका अनुसार टिपर खस्दा चालक र सहचालक वेपत्ता भएको आशंका गरिएको छ । टिपरमा सामान कति थियो भन्नेचाहीँ खुलेको छैन । कर्णाली राजमार्ग सडकबाट करिब १५० मिटर तल टिपर नदीमा खसेको हो ।