सुर्खेत। सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म थप गरिएको छ। कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गर्दै वैशाख १४ गतेदेखि जारी निषेधाज्ञा यो पटक पनि थप गरिएको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरकारी कार्यालयहरुको कामकाज नियमित गर्नेगरी निषेधाज्ञा थप गरिएको उनले बताए।
यातायात सञ्चालको विषयमा भने अहिलेसम्म कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। ‘अहिलेलाई सरकारी कार्यालयका कामकाजलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित गर्ने कुरा छ, यातायातका बारेमा कुनै निर्णय भएको छैन।’ उनले भने।
गत सातादेखि सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो भने बनाईएको छ। खाद्य, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, पुस्तक, कपडा पसल, सिलाईकटाईका पसल, बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाईने व्यवस्था गरिएको छ। बिमा, बैंक तथा वित्तीय सेवाका कार्यालयहरु पनि सञ्चालनमा रहनेछन्।
कर्णाली टाइम्स
बिहीबार, असार १०, २०७८