बुधबार, जेष्ठ २, २०८१

शिक्षण सिकाई आपूरण योजना कार्यान्वयन गर्ने प्रतिबद्धता

  
कर्णाली टाइम्स आइतवार, भदौ १०, २०८०


सुर्खेत। कर्णालीका स्थानीय तहहरुले शिक्षण सिकाई आपूरण तथा द्रूत शिक्षा योजना कार्यान्वयनमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। कोभिड–१९ महामारी तथा अन्य विविध कारणले शिक्षण सिकाईमा भएको क्षतिको परिपूर्ति गर्न शिक्षा मन्त्रालयले ‘रिकभरी एण्ड एक्सिलेरेटेड लर्निङ (रिअल)’ योजना तयार पारेको छ।
सन् २०२३ देखि २०२८ सम्मका लागि तयार पारिएको पाँच बर्षे योजना कार्यान्वयनका विषयमा वीरेन्द्रनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी स्थानीय तहका शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारीहरुले कार्यान्वयनमा प्रतिबद्धता जनाएका हुन्।
प्रशिक्षणमा सहभागी वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले स्थानीय तहलाई योजना कार्यान्वयनमा चुनौती भएपनि निरन्तर लाग्ने बताए। विभिन्न कारणले क्षति भएको शिक्षण सिकाईलाई परिपूर्ति गर्न यो पाँच बर्षे योजनाले सार्थकता पाउने बताए।
सल्यानको शारदा नगरपालिकाकी संगिता बुढाले स्थानीय तहका शिक्षा शाखाहरुको जनशक्ति, स्रोतसाधन लगायतका व्यवस्थापन गर्न सके अहिलेको पाँच बर्षे योजना कार्यान्वयनमा सहजता आउने बताईन्। ‘स्थानीय तहका शिक्षा हेर्ने विषयगत शाखामा विभिन्न समस्या यथावतै छन्, ती समस्या पनि समाधान गर्न सकिएमा सिकाई आपूरण योजना अघि बढाउने अझ सहज हुन्छ,’ उनले भनिन्, ‘महत्वपूर्ण योजना भएकाले हामीले कार्यान्वयनमा प्रतिबद्धता जनाउँछौं।’
सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले दक्ष जनशक्तिको व्यवस्थापन गरी सिकाई परिपूर्ति गर्ने योजना कार्यान्वयनमा अघि बढ्नुपर्ने औंल्याए। अहिलेसम्म शिक्षा सुधारका लागि भएको योजनाहरु सन्तोषजनक रुपमा सफल नभएको बताउँदै उनले अहिलेको पाँच बर्षे योजनालाई सफल रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्त शर्माले शिक्षण सिकाई सुधारका लागि अहिलेको पाँच बर्षे योजना महत्वपूर्ण भएकाले यसको कार्यान्वयनमा सक्रिय भएर लाग्न स्थानीय तहहरुलाई आग्रह गरे।
सेभ द चिल्ड्रेनका मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालय प्रमुख रत्नराज ओझाले सरकारले शिक्षण सिकाई परिपूर्तिका लागि ल्याएको पाँच बर्षे योजना कार्यान्वयनमा विकास साझेदार संस्थाहरुले समन्वयकर्ताको भूमिका खेल्नुपर्ने बताए। उनले सरकारले ल्याएका शिक्षासम्बन्धि योजनाहरु कार्यान्वयनमा हातेमालो गर्न सेभ द चिल्ड्रेन तयार रहेको बताए। विपदका कारण क्षति भएको शिक्षण सिकाई सुधार्न संस्था आफ्नो तर्फबाट पनि रिन्तर लागिरहेको ओझाले बताए।
संघीय सरकारले तयार पारेको ‘रिकभरी एण्ड एक्सिलेरेटेड लर्निङ (रिअल)’ योजना कार्यान्वयनका लागि स्थानीय तहहरुमा पठाएको छ। कार्यान्वयनका क्रममा नियमित र विशेष कार्यक्रमका रुपमा स्थानीय तहमा लागु गरिएको छ। कर्णालीका पाँच वटा पालिकामा विशेष कार्यक्रमका रुपमा योजना लागु गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल शिक्षा समूहको समन्वयमा शुक्रबार र शनिबार वीरेन्द्रनगर योजना कार्यान्वयनका विषयमा प्रशिक्षण गोष्ठी आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेशका ३२ वटा स्थानीय तहका विषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।