आइतवार, बैशाख २३, २०८१

हेलिकोप्टर कम्पनीलाई माउन्टेन र स्लिङ फ्लाईटका लागि बाटो खुला

प्राधीकरणको पाँच बुँदे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

  
कर्णाली टाइम्स आइतवार, भदौ १०, २०८०


सुर्खेत। ‘माउन्टेन फ्लाइट’ र ‘स्लिङ’ उडान गर्न हेलिकोप्टर कम्पनीहरुलाई बाटो खुलेको छ। सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएपछि माउन्टेन फ्लाइट र स्लिङ उडानको बाटो खुलेको हो।
प्राधिकरणले पछिल्लो हेलिकोप्टर दुर्घटना हुनुमा मौसम खराबी प्रमुख कारण भएको प्रारम्भिक निष्कर्षका आधारमा सेप्टेम्बरसम्म माउन्टेन फ्लाइट र स्लिङ उडानमा प्रतिबन्ध लगाएको थियो।
आइतबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्राधिकरणले गरेको पाँच बुँदे निर्णय सबै कार्यान्वयन नगर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै उडानको सुरु गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्य जान नपाइने निर्णय कार्यान्वयन नहुने भएको छ। प्राधिरकणले हेलिकोप्टर एउटा गन्तव्यबाट उडान गरेर गएपछि त्यही गन्तव्यमा फर्केर मात्रै अन्य गन्तव्यमा जान पाउने निर्णय गरेको थियो।
उडानबारे प्राधीकरणले गरेको निर्णयका कारण सडक सञ्चालन नभएका र भौगोलिक कठिनाई भएका कर्णाली लगायतका पहाडी क्षेत्रका नागरिकलाई राहत हुने सिम्रिक एअरका कर्णाली प्रदेश प्रमुख कमल गौतमले बताए। तत्कालै उद्दार गर्नुपर्ने बिरामीहरुका लागि प्रधीकरणको निर्णयले समस्या आएको उनले बताए।